सुर्खेतका छाडा चौपायालाई हुम्ला पठाइँदै

कर्णाली । प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ । छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालतले परमादेश जारी गरेपछि वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लास्थित कृषि फर्मलाई पठाइएको हो ।

अदालतले बुधबार वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशु चौपाया तत्काल व्यवस्थापन गर्न परमादेश जारी गरेको थियो । नगरपालिकाले बिहीबारसम्म सडकमा छाडिएका पशु चौपाया लैजान सार्वजनिक अपिल गरेको थियो ।

नगरपालिका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले कोही सम्पर्कमा नआएपछि शुक्रबार १०० पशु चौपाया हुम्लाको खार्पुनाथ गाउँपालिकातर्फ पठाएको जानकारी दिए। त्यहाँको कृषि फर्मले गाई तथा गोरु उपलब्ध गराइदिन नगरपालिकासँग लिखित अनुरोध गरेपछि पठाइएको उहाँको भनाइ छ । उपशाखा प्रमुख गिरीले बाँकी चौपाया क्रमशः मागका आधारमा पठाउने गरी समन्वय भइरहेको बताए ।

वीरेन्द्रनगरका सडकमा करीब ५०० छाडा पशु चौपाया रहेको तथ्याङ्क छ । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारीसाधनलाई आउजाउमा समस्या हुने गरेको छ । कानूनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *