USAID

साझा प्रकाशनको अध्यक्षमा डा सुब्बा निर्वाचित


काठमाडौं । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी डा जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले जानकारी दिए । यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो ।

डा सुब्बा र डा कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुन् । भाषा–साहित्यका क्षेत्रमा ऐतिहासिक सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिका अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो ।

विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्त गरिन्थ्यो । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ । कूल एक हजार ४५७ मतदाता (अंशियार) रहेको सो प्रकाशनको निर्वाचनमा ६४३ मत खसेको र ४८ बदर भएको थियो ।

प्रकाशनका सञ्चालक सदस्यमा यसअघि हरिप्रसाद भण्डारी, डिपी अर्याल र सीता ओझा तथा लेखा सुपरीवेक्षण समितिका संयोजकमा प्रभादेवी बज्राचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यका उम्मेदवार वियोगी बुढाथोकी, ज्ञानु अधिकारी, महेश प्रसाईँ र यशोदा अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सहमति भएको थियो । निर्वाचनका लागि अधिवक्ता मनोहर लामिछानेका संयोजकत्वमा समिति गठन भएको थियो ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *