USAID

निर्वाचनमा ढुक्क भएर होमिन प्रधानमन्त्रीको आह्वान

  • 2
    Shares

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । धनगढीमा शुक्रबार आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गरे ।

प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो ।”
प्रधानमन्त्री ओलीले हड्पिएको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नक्शा छापिँदा केहीबाट देशमा कोकोहोलो र असहज स्थिति सिर्जना गरिएको बताउँदै भने, ‘बाहिर बाहिर राष्ट्रवादी देखिन, भित्रभित्र नक्शा छाप्यो भनेर उखरमाउलो गरेर उठबस गर्नेहरु नक्कली राष्ट्रवादी र पदका लागि लड्ने हुन् ।’

प्रधानमन्त्रीले कञ्चनपुरको दोधारा चाँदनीमा सिँचाइको व्यवस्थापन गर्न महाकाली नदीबाट दश क्युसेक पानी छाड्ने सहमति भारतसँग केही दिनअघि भएको जानकारी दिँदै परराष्ट्रमन्त्रीको आगामी दिनमा हुने भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने गरी मूर्त रुपमा कुरा गर्न लागिएको बताए ।

उनले चाँदनी दोधारामा सुख्खा बन्दरगाह, पञ्चेश्वर परियोजना, सेती लोकमार्ग र महाकाली करिडरको निर्माणको काम अघि बढाउन लागिएको, गेटा विमानस्थलको थप स्तरोन्नतिको पहल गरिएको र निर्माणाधीन गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालनको तयारी भइरहेको तथा दार्चुलाको छाङ्रुमा मोटर बाटो पुर्याउने र बैतडीमा फोस्फरस खानीको विकास गरिने जानकारी पनि दिए ।

प्रतिनिधिसभा विघटनपछि पहिलो पटक राजधानी बाहिर आयोजित पहिलो आमसभामा सहभागी हुँदै प्रधानमन्त्री ओलीले पश्चिम सेती जलविद्युत् परियोजना स्वदेशकै वा अरु लगानी खोजेर भए पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *