वाशिङ्टनमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुग्यो, संसद बैठक जारी

अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले उक्त बैठकमा छिर्ने प्रयास गर्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोक्ने प्रयास गरेका थिए । त्यसपछि प्रदर्शन हिंसात्मक बन्न पुगेको हो । वाशिङ्टनका मेयरले दिएको जानकारीअनुसार जबरजस्ती बैठकमा छिर्न खोज्ने एक महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । त्यस्तै उक्त हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु हुने अन्य तीन जनामा दुई पुरुष र एक महिला छन् ।

भिड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्मा बैठक पुनः सुरु भएको छ । अमेरिकी संसद् रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोक्नु परेको थियो ।

प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड र प्रहरीसँग मुठभेड गरेका थिए । संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्न नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ । आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ’आइ लभ यू’ लेखेका थिए । ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ ।

संसद्मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् । पूर्वराष्ट्रपति बराक ओबामाले इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झने बताएका छन् ।

त्यसैगरी पूर्वराष्ट्रपति विल क्लिन्टनले जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला भएको भन्दै यसले अमेरिकीहरूलाई एकविरुद्ध अर्को उभ्याइरहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *