USAID

कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोध


काठमाडौँ । कृषिक्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोध गर्दै कृषि उद्यमीहरूले अदालत जाने निर्णय गरेका छन् । कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पार्ने भएकाले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।

डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपक्षी पालन सहकारी संघ र नेपाल मत्स्य व्यवसायी संघलगायतले सरकारी निर्णयको विरोध गर्दै आफूहरू अदालत जाने जानकारी दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने निर्णय सोमवारको राजपत्रमा प्रकाशित गरेपछि कृषि उद्योगीहरूले उक्त निर्णयको विरोध गर्दै अदालतसम्म जाने बताएका हुन् । विदेशी लगानी भित्र्याउँदा ५० करोड उद्योगमा लगानी गर्नुपर्ने र त्यसबाट उत्पादित ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने सर्तसहित सरकारले ऐन ल्याएको हाे ।

निजीक्षेत्रको अर्बौं लगानी रहेको क्षेत्रमा प्रमुख सरोकारवालासँग परामर्श नगरी लिएको निर्णय किसानको हितविपरीत भएको भन्दै  सरोकारवालाको बैठकले सरकारको नीतिका विरुद्ध अदालत जाने निर्णय गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

सरोकारवालाहरुका अनुसार नेपालमा माहुरी पालनमा ४ अर्ब, माछापालनमा करीब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब, दाना तथा कखुरा पालनमा ४० अर्ब गरी कुल ८५ अर्बको लगानी रहेको छ । यसमा १५ लाखभन्दा धेरै कृषक तथा श्रमिकले रोजगारी पाएको सरकारी तथ्यांक छ । सरकारले कृषिमा विदेशी लगानी खुला गरे कृषि क्षेत्रको अवस्था नै तहसनहस हुने खतरा बढ्ने भएकाले कुनै पनि हालतमा कार्यान्वयन नगर्न उद्यमीहरूको माग रहेको छ ।

यद्यपि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले सरकारी निर्णयको बचाउ गरेकी छिन् । उनले स्वदेशी उत्पादनलाई निरुत्साहन गर्ने सरकारको मनसाय नभई कृषिक्षेत्रमा विविधीकरण गरी नवीनतम प्रविधिको उपयोग र लगानीलाई प्रवर्द्धन गर्न सरकारले यस्तो निर्णय गरेको उनको भनाइ छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *