होबार्ट हुरिकेन्सको जितमा सन्दिपले लिए दुई विकेट

प्रज्जवल थापा । लेग स्पिनर सन्दिप लामिछानेले बिग बास लिग (बिबिएल) अन्तर्गत सिजनको आफ्नो पहिलो खेलमा दुई विकेट लिएका छन् । शनिबार दिउँसो भएको खेलमा सन्दिपको टिम होबार्ट हुरिकेन्सले मेलबर्न स्टार्सलाई २१ रनले पराजित गरेको हो ।

बेल्लेरिभ ओभलमा भएको खेलमा १६५ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो । स्टार्सको लागि कप्तान ग्लेन म्याक्सवेलले बिस्पोटक ब्याटिङ गरेपनि अन्य ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । म्याक्सवेलले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७० रन जोडे । यस्तै एन्द्रे फ्लेचेरले १०, निकालोस पोरानले १४ र साम रेन्बर्डले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न नसक्दा स्टार्स हार बेहोर्न बाध्य भयो ।

हुरिकेन्सको लागि स्कोट बोल्यान्डले ४ ओभर बलिङ गर्दै २२ रन दिएर सार्वधिक ३ विकेट लिए । यस्तै सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर २ विकेट लिँदा नाथन एल्लिसले २ र जोहान बोथाले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गर्न उत्रिएको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन जोडेको थियो । हुरिकेन्सको लागि डेभिड मालानले सार्वधिक ७५ रन जोडे । उनले ५६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै ओपनर बेन मेकडेर्मोटले ३५ बलमा ३१ रन जोड्दा शोर्टले १२ र इंग्रामले २६ रनको योगदान गरे ।

मेलबर्नको लागि बिली स्टान्लाकेले ४ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिए । यस्तै रेन्बर्ड र म्याक्सवेलले समान १/१ विकेट लिए ।

जितसँगै होबार्ट हुरिकेन्स ७ खेलमा १८ अङ्क जिड्दै लिगको दोस्रो स्थानमा छ । पराजित मेलबर्न ६ खेलमा १० अङ्क जोड्दै पाँचौ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *