मन्त्रमय जीवनशैली स्मरण गराउने पुस्तक ‘मन्त्र–विज्ञान’

पूर्णप्रसाद मिश्र, काठमाडौं । वैदिक गुरु परम्पराको लुप्त मन्त्रको खोज एवं संरक्षण गरी साधकको आचरणलाई सिद्ध गराउने उद्देश्यले मन्त्रमा हुने वैज्ञानिक पक्षका बारेमा जानकारी दिन मन्त्र–विज्ञान भाग–१ नामक ग्रन्थ सफल देखिन्छ ।

जसले रक्षा र अभिमत पदार्थको प्राप्ति गराउँछ, त्यसलाई मन्त्र भनिने पाञ्चरात्रसंहितामा उल्लेख छ । मन्त्रको परम्परा रहस्यात्मक र अनादि अपौरुषेय श्रुति परम्परासम्म जोडिएको छ । मन्त्र शक्ति सम्पन्न सत्तत्व हो । मन्त्रले व्यक्तिभित्र रहेको आन्तरिक चेतनालाई प्रकट गर्दछ ।

तन्त्रशास्त्रमा प्रतिपादन गरिएका व्यवहारिक र शास्त्रीय जीवनोपयोगी साधनाको रहस्यलाई युग सुहाउँदो प्रयोगात्मक दृष्टिले मन्त्र विज्ञान नामक पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा समेटिएका साधनाका तरिका पठनीय छन् । वैदिक चिन्तन धाराका विभिन्न विषय, मन्त्र र मन्त्रसाधनाका मार्ग, महाविद्याको उपादेयता र उपास्यभाव, ग्रह र ग्रहशान्तिका उपाय, रत्न र रत्नधारणको वैज्ञानिक विवेचनाजस्ता महत्वपूर्ण क्षेत्रलाई पुस्तकमा समेटिएको छ ।

पुस्तकले पाठकलाई अन्धकारबाट उज्यालोतर्फ लैजान सहयोग गर्नेछ । विभिन्न तापबाट सन्तप्त समाजलाई सांसारिक कष्टबाट मुक्त पार्न यो ग्रन्थ सेतु बन्न सक्छ । भनिएको पनि छ, ‘देवाधीनं जगत्सर्वं मन्त्राधीनाः च देवताः’ अर्थात् जगत् देवताको अधीनमा छ । देवताचाहिँ मन्त्रका अधीनमा छन् । यही भनाइबाट पनि मन्त्रको महत्व कति छ भन्ने प्रष्ट हुन्छ ।

मन्त्रको वैज्ञानिक विषयवस्तु सङ्कलन गरेर विश्लेषण गरी मन्त्र विज्ञान भाग–१ पुस्तक डा मिलनकुमार थापाले तयार पारेका छन् । पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षसमेत रहनुभएका थापाको यसअघि ‘ज्ञानशाला’ विसं २०७१ र ‘तन्त्र विज्ञान’ विसं २०७३ मा प्रकाशित भइसकेको छ । मन्त्रमा ब्रह्माण्डको ऊर्जा विद्यमान रहेको हुन्छ । त्यो ऊर्जाको विषयलाई थापाले पुस्तकमा उल्लेख गर्नुभएको छ । मन्त्रको प्रयोगात्मक तरिकाले समाजलाई जानकारी दिन पुस्तक सफल छ ।

मन्त्रलाई आफूमा समाहित गरेर शास्त्र एवं गुरु परम्पराअनुसार साधना गर्दा मन्त्र सिद्ध हुन्छ । भारत वर्षमा मन्त्र साधना गुरुपरम्परा वा कुलपरम्पराको रुपमा चल्दै आएको छ । कतिपय मन्त्रको साधना विधि पुस्तकमा उपलब्ध भए पनि हजारौँ मन्त्रका साधना विधि ओझेलमा परेका छन् । ओझेलमा परेका मन्त्रको साधना विधि सङ्कलन गरी पुस्तकका रूपमा सार्वजनिक गर्दै जानुपर्ने आवश्यकता छ । प्रयोगात्मकरूपमा आएका पुस्तकको साधना गर्नु पनि जरुरी छ ।

मन्त्र साधनाको रहस्य थाहा नपाई गर्दा सिद्धि पाइँदैन । रहस्य थाहा पाएर साधना गर्ने हो भने प्रत्येक अक्षरमा मन्त्रको शक्ति रहेको सुभाषितभाण्डागार ग्रन्थमा यसरी उल्लेख गरिएको छ–

अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।।

अर्थात् कुनै पनि अक्षर यस्तो छैन जसमा मन्त्र नहोस् । औषधि नभएको वृक्ष छैन । कुनै पनि व्यक्ति अयोग्य छैन । तर त्यसलाई सही प्रयोग गर्ने कर्ता अथवा संयोजक भने दुर्लभ छ । प्राचीन वैदिक ग्रन्थमा मन्त्रको परिभाषा यसरी गरिएको छ– ‘मननात् त्रायते इति मन्त्र’ अर्थात् चिन्तन मनन्बाट रक्षा गर्ने तत्व नै मन्त्र हो । ‘मन्त्र अस्यास्ति इति मन्त्री’ अर्थात् जसमा मन्त्रत्व शक्ति छ, त्यो मन्त्री हो । यसैगरी ‘मन्त्रस्य आलय इति मन्त्रालय’ अर्थात् मन्त्रहरुको घर नै मन्त्रालय हो । यसरी हेर्दा मन्त्रीमा मन्त्रत्व शक्ति अर्थात् नीति नियम हुनुपर्छ । त्यस्तै नीति नियमको घर नै मन्त्रालय हो ।

हितोपदेशमा भनिएको छ, ‘षट्कर्णो भिद्यते मन्त्र मन्त्रस्चतुष्कर्ण स्थिरो भवेत्’ अर्थात् दुई जनाभन्दा बढी मानिसकाबीच मन्त्र सुनाउनु हुँदैन । चार कान भएको स्थानमा सुनाएको मन्त्र स्थिर हुन्छ । छ कान वा त्यो भन्दा बढी भएको स्थानमा सुनाएको मन्त्र चुहिएर जान्छ । यसबाट पनि प्राचीनकालदेखि नै हाम्रो समाजमा मन्त्रको महत्व कति छ भन्ने प्रष्ट हुन्छ । वैदिक परम्पराको मन्त्र दिने यो नियमलाई पूर्वीय दर्शनका आधारमा कर्म गर्नेले मात्र होइन, पश्चिमाले समेत आत्मसात गरेका छन् । यसै सन्दर्भमा पछिल्ला पुस्ताका लागि मन्त्रप्रति आकर्षण गराउने कडी बन्न पुस्तक सफल देखिन्छ । मन्त्र हाम्रो विज्ञान हो, पुर्खाको सम्पत्ति हो, पछिल्ला पुस्तालाई अर्पण गर्नुपर्ने पैतृक वैभव हो । यी विषयलाई पुस्तकमार्फत उजागर गर्न स्रष्टा थापा सफल भएका छन् ।

पश्चितर्फ फर्केर विज्ञानको गन्ध सुँघ्नेलाई पुस्तकले राम्रो होस खुलाएको छ । वैदिक ज्ञानविज्ञानप्रति विदेशी मन्त्रमुग्ध हुन थालेका छन् । मन्त्रको सुगन्ध स्वदेशमामात्र नभई विदेशमा समेत गराउन पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । पुस्तक मन्त्र, वैदिक परम्परा, रत्न आदि पक्षलाई जीवनसङ्गत तरिकाले प्रयोग गर्ने विधिलाई प्रकाश पार्न सफल भएको देखिन्छ ।

हाम्रो जीवनशैली र दैनिकी मन्त्रमय छ । बिहान उठेर ओछ्यानमै हातको दर्शन गर्ने, पृथ्वीको प्रार्थना गर्ने र आफूभन्दा ज्येष्ठलाई अभिवादन गर्ने मन्त्र छन् । स्नान गर्ने, खाना खाने बेलादेखि राति नसुतेसम्मका लागि मन्त्रोच्चारण गर्ने वैदिक परम्परा छ । यसैले पूर्वीय दर्शनमा जीवन मन्त्रमय छ । मन्त्रले तनावकाबीच खुशी भएर जीवनयापन गर्न सहयोग गर्छ । थापाको पुस्तक यसैतर्फ मानवलाई डो¥याउने मार्ग बनेको छ ।

पुस्तक तीन खडमा विभाजित छ । ५५ शीर्षकमा विभाजित पहिलो खण्डले मन्त्रका बारेमा सर्वसाधारणलाई लाग्न सक्ने जिज्ञासा शान्त गर्न सहयोग गर्नेछ । मन्त्रको उत्पत्ति, वेद, वेदाङ्ग, उपाङ्ग, पुराण, नीतिग्रन्थ, महाकाव्य आदिको परिचयसहितको जानकारी दिइएको छ । शास्त्र र ग्रन्थबाट विमुख भई जिज्ञासा राख्नेलाई यो खण्ड पठनीय र मननीय छ । दोस्रो खण्डमा मन्त्रका प्रकार, प्रकृति, शोधन आदिले स्थान पाएका छन् । ११ शीर्षकमा बाँडिएको यो खण्डमा मन्त्र साधनाका आधारभूत विषयलाई व्याख्या गरिएको छ । मन्त्रप्रतिको अन्धविश्वास हटाउने प्रयास पनि यो खण्डमा गरिएको छ । तेस्रो खण्डमा बाह्र राशि, रत्नका प्रयोग एवं नवग्रह शान्तिको सैद्धान्तिक विषयलाई विश्लेषण गरिएको छ ।

ग्रहदशाबाट प्रतिकूल अवस्थालाई निराकरण गर्न आवश्यक पर्ने ज्ञानलाई यस खण्डले समेटेको छ । तेस्रो खण्ड १० शीर्षकमा विभाजित छ । समग्रमा पुस्तक ज्ञान, उपासना र कर्मकाण्डको त्रिवेणी बन्न सफल भएको छ । पाठकले अपेक्षा गरेअनुसार प्राप्त गर्ने गरी मन्त्र विज्ञान पठनीय, मननीय, चिन्तनीय, सङ्ग्रहणीय पुस्तक बनेको छ ।

मन्त्र र विज्ञानलाई छुट्याएर हेर्न हुँदैन भन्ने विचारलाई पुस्तकले पुष्टि गरेको छ । पुस्तकले मन्त्रको सूक्ष्मता बुझाउने बाटो देखाएको छ । हाम्रा पुर्खा ऋषिमुनिको विरासतलाई पनि मन्त्र विज्ञानले स्मरण गराएको छ । संस्कृत भाषाको ज्ञान नभएका पाठकलाई पनि मन्त्रका बारेमा बुझ्न पुस्तकले योगदान गर्नेछ । नेपाली भाषामै मन्त्रको बहुआयामिक महत्व बुझाउन पुस्तक सफल छ । जिज्ञासुलाई केन्द्रविन्दुमा राखेर तयार गरिएकाले मन्त्रका दार्शनिक र कठिन पक्ष पुस्तकमा मौन छन् । थापाको विद्यावारिधि शोधलाई पुस्तकका रूपमा स्थापित गर्न सम्पादक हरिप्रसाद सोडारीले सरल भाषामा सम्पादन गर्नुभएको छ । अर्को भागमा मन्त्रका दार्शनिक र कठिन पक्षलाई समेत पाठकले बुझ्ने गरी पस्कने प्रतिबद्धता पुस्तकमा जनाइएको छ ।

पुस्तकमा समावेश गरिएका तस्वीरले विषयवस्तुलाई चित्रबाटै बुझ्न सजिलो बनाएको छ । धर्म, संस्कृति, विद्यापरम्परा संरक्षण गर्न स्थापित सङ्घसंस्थालाई मार्गदर्शक बन्न पुस्तक सफल हुने देखिन्छ । मन्त्रजस्तो गहन विधालाई चिन्तन, मनन नै नगरी बदनामको पगरी गुथाइएकामा त्यो भ्रम चिर्न पुस्तकले योगदान दिएको छ । मन्त्र प्रयोग गर्ने हुँ भन्नेहरुले नै मागीखाने, चमत्कार गर्ने, ठगी खाने विद्या बनाई आएकामा वास्तविकता उजागर गर्न पुस्तक सफल भएको छ ।

प्राविधिक कारणले हुनसक्छ, केही भाषिक अशुद्धिबाहेक पुस्तक पठनीय छ । आकर्षक आवरणसहित गुणस्तरीय कागजमा छापिएको पुस्तक श्रीहनूमान् तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरले प्रकाशन गरेको हो । कडा गातासहित २८२ पृष्ठको पुस्तकको मूल्य दुई हजार ५७५ रुपैयाँ छ । मन्त्रका विषयमा जानकारी खोज्नेका लागि पुस्तक सङ्ग्रहणीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *