साइनोफार्मले विकास गरेको खोप सार्वजनिकरुपमा प्रयोगका लागि चीनमा स्वीकृति

चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ । उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् ।

चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरिराखिएको छ । सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो ।

चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो जसलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनका लागि मुख्य कदमका रूपमा हेरिएको छ । चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यहाँ हालसम्म खोपको ४५ लाख भन्दा बढी मात्रा वितरण गरिसकिएको छ ।

बेङजीङ्ले चिनियाँ नयाँ वर्षको सुरुवात फेब्रुअरी महिनाको मध्यसम्ममा करोडौँ सर्वसाधारणहरूलाई खोप लगाउने अपेक्षा गरेको छ । केही विज्ञहरूले सावधान रहँदै खोपलाई दिइएको स्वीकृतिको स्वागत गरेका छन् ।

तर उनीहरूले परीक्षणको विस्तृत डेटा सार्वजनिक नगरिएको औँल्याएका छन् । पश्चिमा मुलुकहरूमा फाइजर÷बायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत र मोडेर्नाले विकास गरेको खोप ९४ प्रतिशत प्रभावकारी देखिएपछि सार्वजनिक प्रयोगका लागि स्वीकृत गरिएको थियो ।

चीनले आफूले विकास गरेको खोप कम विकसित मुलुकहरूलाई उचित मूल्यमा दिने बताएको छ जस कारण उसले विकास गरेको खोप विश्वका धेरै मानिसहरूले प्राप्त गर्ने सम्भावना छ ।

यसै महिना यूएईले तेस्रो चरणको परीक्षणमा ८६ प्रतिशत प्रभावकारी भएको भन्दै साइनोफार्मले विकास गरेको खोपको प्रयोग सुरु गरेको थियो । बाहराइनले पनि यही खोप सार्वजनिक प्रयोग गरेको थियो । साइनोफार्मले विकास गरेको खोपलाई चीनले स्वीकृत गरेको केही घण्टामै पाकिस्तानले १२ लाख मात्रा खरिद गर्ने घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *