‘चिसो अझै बढ्न सक्छ’

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बिहीबार शून्यमा झरेको छ। बिहीबार बिहानको तापक्रम ०दशमलव८ डिग्री मापन भएको छ।
यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १दशमलव१ डिग्री सेल्सियस थियो। गत वर्ष डिसेम्बर ३१ तारिखमा उपत्यकाको न्यूनतम तापक्रम १दशमलव ५ डिग्री रेकर्ड भएको थियो।

मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ। ‘हिउँदे वर्षा अझै भएको छैन। वर्षासँगै उच्च भेगमा हुने हिमपातको प्रभावले स्वाभाविक रूपमा देशैभर चिसो बढ्छ’, महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले भने। अहिले पश्चिमी वायु बलियो नभएकाले तत्काल हिउँदे वर्षाको सम्भावना नरहेको सापकोटाले बताए।

वर्षा नभए पनि काठमाडौं उपत्यकासहित अन्यत्र तापक्रम घट्नेक्रम जारी छ। बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८दशमलव५, दिपायलको ०दशमलव४, वीरेन्द्रनगरको १दशमलव९ डिग्री मापन भएको छ। मौसमविद् अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रअरीलाई मध्य हिउँदे अवधिका रूपमा बुझ्ने गर्छन्।
भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कस्मिर हुँदै मुलुकको सुदूरपश्चिमी भेगबाट प्रवेश गर्छ। सोही प्रभावले नेपालसहित छिमेकी मुलुकमा हिमपात र हिउँदे वर्षा हुने गर्छ। सो प्रभाव अहिले कमजोर भएकाले हिउँदे वर्षाको असर नदेखिएको मौैसमविद् बताउँछन्।

डिसेम्बरमा काठमाडौं उपत्यकाको औसत वर्षाको मात्रा १३दशमलव२ मिलिमिटर हो। जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावले केही वर्षयता हिउँदे झरी हिउँदयामको अन्त्यतिर धकेलिन थालेकाले झरीसँगै न्यूनतम तापक्रम खस्किने वरिष्ठ मौसमविद् मणिरत्न शाक्यको ठहर छ। ‘गत वर्ष मंसिरमै मेघ गर्जनसहित वर्षा भएको थियो, यसपटक मध्य पुसमा पनि परेको छैन’, शाक्यले भने, ‘ढिलोछिटो पानी पर्छ, पानी परेपछि चिसो बढ्ने सम्भावना धेरै हुन्छ।’

हिन्द र प्रशान्त महासागरसहित दक्षिण एसियाको समग्र मौसमी अवस्था विश्लेषण गरेर विज्ञले मनसुन र हिउँदे वर्षाको दृष्टिकोण बनाउने गर्छन्। प्रशान्त महासागरको पूर्वी भेगको पानी औसत भन्दा बढी तात्ने प्रक्रिया (एलनिनो) कमजोर बन्दा हिउँदे वर्षा ढिलो र कमजोर बनेको विज्ञहरूको बुझाइ छ। सो सागरको पानी औसतभन्दा कम तात्ने प्रक्रिया (ल्यानिना) भएमा हिउँदे वर्षा र मनसुन प्रभावित नहुने मौसमविद् शाक्यले बताए।
‘अहिले एलनिनो कमजोर र सक्रिय नभइ ‘न्यूट्रल’ अवस्थामा छ, करिब एक÷डेढ महिनापछि भने ल्यानिनातर्फ ढल्किने अन्तर्राष्ट्रिय अनुसन्धानले देखाइरहेको छ’, उनले भने।अन्नपूर्ण पोष्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *