जब्बर झम्की आमा…

  • 1
    Share

नारायण ढुंगाना, सर्लाही । “पाल्ने भए यत्रो साल कहाँ गएका थियौ, किन नलगेका, तिमीहरु पाल्न होइन मलाई लुट्न आएको हो, ए भाइ हो (गाउँलेलाई देखाउँदै), यिनीहरु चोरी गर्न लागे, मलाइ बचाऊ… ।”

मेची­महाकाली उद्धार कार्यक्रमअन्तर्गत बुधबार सडकबाट उठाएर आश्रममा लैजान खोज्दा सर्लाहीको हरिवन नगरपालिकास्थित सुखेपोखरी चोकमा एक महिला यसरी बेस्मारी चिच्याइन् । “आमा अब जाम हिँड्नुहोस् घर, यहाँ बस्नुहुन्न”, स्थानीय वडा सदस्य सुकदेव कार्कीका प्रेमिल यी भनाइ उनका लागि वचन बाण बन्यो । त्यसपछि उनी झनक्क रिसाएर लाठी आक्रमणमा उत्रिइन् । उनी त्यति मात्रै बोलेर चुप लागिनन् । फोटो निकालेर बेच्न खोजेको आरोप लगाउँदै मुखमुखै लागिन् । पटकपटक अभियानकर्मीले उद्धार प्रयास गर्दा उनले लाठी लिएर लखेटिन् ।

आक्रमणको शिकार हुने डरले उनलाई हत्तपत्त कसैले समाउने आँट गरेनन् । साथमा छोराझैँ हुर्काएर पालेको कुकुर उनको सहारा बनेर उभिएको थियो । उनको काखमा लुटपुटिएको कुकुरले कसैलाई छुन दिएन । जसले ती आमालाई छुन खोज्थ्ये, कुकुर झम्टिएर आक्रमण गथ्र्याे । केहीबेरको गलफतीपछि उद्धार टोलीले उनलाई सडकबाट उठाउन सफल त भयो तर उद्धार बाहनमा राख्न उत्तिकै कठिन भयो । उनलाई लगेको देखेर कुकुर निक्कै बेर छट्पटायो । कुकुरलाई साथै लैजाने प्रयास भने सफल हुन सकेन ।

जाडो मौसम भएकाले चोकमा आगो फुसफुस बलेर ताप्दै गर्दा उनलाई बुधबार उद्धार गरिएको थियो । डोरीको एक छेउ उनको कम्मरमा र अर्काे छेउ बच्चैदेखि पालेको कुकुरको घाँटीमा बाँधिएको थियो । छिमेकीका अनुसार उनले त्यो कुकुर बच्चैदेखि पालेकी हुन् । छेउको अर्काे बोरामा चार वटा कुकुरका छाउरासमेत थियो । उनको कम्मरमा सम्पत्ति राखनधरनको पोको खुबै संरक्षण गरेर राखेकी थिइन् । पोको छोयो की आक्रमणमा उत्रिन्थिन् । पछि पोको खोल्दा एक हजार ६०० नगद फेला परेको थियो ।

छिमेकी गङ्गा बस्नेत कसैले नयाँ कपडा दिँदा उनले सबै अगेनामा लगेर डढाउने गरेको सुनाउँछिन् । उनका अनुसार परिवार नभएको पनि होइन तर परिवारले उपचार गर्न नसकेपछि सडकमा आइन् ।

उनमा यसरी मनोरोग लागेको झण्डै दुई वर्ष भयो । सुधारको कयौँ प्रयास सफल नभएको बताइएको छ । उनलाई छिमेकीले नाम दिएका छन् ‘झम्की’ । झमझम बज्ने सामान हात र खुट्टामा लगाएर हिँड्ने गरेकाले उनलाई झम्की भनिएको हो । बस्नेत भन्छिन्, “तपाइँहरुले उद्धार गर्नुभयो, हामी निक्कै खुशी छौँ, अब यो बाटोमा बिजोग त देख्नु पर्दैन, पुण्य काम भएको छ ।”

मानवसेवा आश्रमका उपाध्यक्ष धर्मप्रसाद पौडेलका अनुसार अघिल्लो हप्ता पनि उनलाई उद्धारको प्रयास भएको थियो तर आक्रमण गर्न थालेपछि एक दुई जनाले नसकेर छाडिएको थियो । बुधबार नै अलि पर बजारमा भेटिएका बुद्धिमान वाइबालाई समेत उद्धार गरियो । परिवारमा कोही नभएपछि मागेर खान थालेको बताउने वुद्धिमानलाई पनि जान्न भन्दाभन्दै जबर्जस्ती उठाउनु परेको थियो । अपाङ्ग बुद्धिमान सडक मै मागेर बस्ने भनेर अड्डी कस्नु भएको थियो तर बेसहाराको खोजीखोजी उद्धार गर्न थालेको आश्रमले उनलाई सडकमा बस्न दिएन ।

बुधबार यसरी सर्लाहीका विभिन्न नगरपालिकाबाट ११ व्यक्तिलाई उठाएर यहाँ हालसालै स्थापना भएको आश्रममा संरक्षण दिइएको छ । उद्धारका क्रममा ३२ वर्षसम्म पिपलको छहारीमा जीवन गुजारेका व्यक्तिदेखि सडकमै बलात्कृत भएकी महिलासमेत भेटिए । उद्धारपछि सबैलाई हरिवन नगरपालिकाको प्राङ्गणमा पुर्याएर नुहाइधुवाई र सरसफाई गरी खाना खुवाइएको र त्यसपछि आश्रममा लगेर राखिएको छ ।

नगरपालिकाका उपप्रमुख रेणुका पौडेलले महत्वपूर्ण अभियानमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै छिट्टै आफ्नो नगरपालिका बेसहारा सडक मानवमुक्त हुनेमा विश्वस्त रहेको बताइन् । उद्धार अभियानकै क्रममा नयाँ स्थापना भएको हरिवनको आश्रममा ६० जना बेसहारा पुगेका छन् । उनीहरु महोत्तरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही जिल्लाका सडकपेटीबाट उद्धार गरिएका व्यक्ति हुन् । शुरुवाती चरणमा आवश्यक स्रोतको अभावले बजारमा गएर मुठीदान समेत उठाएको आश्रमले जनाएको छ । “कसैले चामल, कसैले नगद तथा कसैले लत्ताकपडा दिनुभएको छ, यस्तो सहयोगको यहाँ जरुरी छ”, पौडेलले थपिन् ।

पौडेलका अनुसार यसरी सडकमा आउने व्यक्ति फिरन्ते जीवन बिताउन चाहने जिल्ला बाहिरका धेरै रहेका छन् । अझ तराईका जिल्लामा भने भारतबाट बढी मानिस आएको उनले बताइन् । नेपाल सरकारले बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै यसलाई सफल बनाउन मेची–महाकाली उद्धार अभियान चलाएको छ । एक हप्ताको अन्तरालमा सडकमा रहेका ३०० भन्दा बढीको उद्धार भइसकेको छ । उक्त अभिायन आज वीरगञ्ज र आसपासमा चल्दै छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *