यमनमा विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

  • 1
    Share

यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै कम्तीमा एउटा विस्फोट भएको थियो ।

घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ । तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् । सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतङ्कवादी कार्य गरेको आरोप लगाएका छन् । सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो । त्यहाँ द्वन्द्वका कारण एक लाख १० हजार भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ ।

कोभिड १९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ । भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ। मन्त्रीहरूको स्वागतका लागि पुगेको भिड विमानस्थल टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए ।

त्यसको केही समयमै बन्दुक प्रहारको आवाज सुनिएको थियो । समाचार संस्था एएफपीका संवाददाताले आफूले कम्तीमा दुई वटा विस्फोट सुनेको बताएका छन् । साउदी अरेबियाको एउटा टेलिभिजन च्यानलले प्रसारण गरेको भिडिओमा धावनमार्ग (टरम्याक)मा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको देखिन्छ ।

अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ । यमनको एउटा समाचार वेबसाइट अल मस्दरले श्रम मन्त्रालयका उपसचिव मारिएका र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ । प्रधानमन्त्री मीन अब्दुल मलिक सइद सहित मन्त्रिपरिषद् सदस्यहरूलाई आक्रमण लगत्तै सुरक्षित स्थलमा लगिएको थियो । सन् २०१९को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *