एसईई जेठमा गर्ने तयारी

काठमाडौं । यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी त्यसको तयारी सुुरु गरेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अहिलेसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी थालेको जानकारी दिए । चैत÷वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार÷साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको उनले बताए ।

निर्णय सरकारले लिने
सरकारले यस पटक शैक्षिक सत्र कहिले सुुरु हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र सुुरु भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्रसमेत यकिन हुन सकेको छैन ।
वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालनमा ल्याइएको छ ।
हाल कतिपय विद्यालयमा भौतिक रूपमा समेत कक्षा सञ्चालनमा ल्याइएको छ तर शैक्षिक सत्रको यकिन भने गरिएको छैन । शैक्षिक सत्रको निर्णय गरिदिन आफूहरूले सरकारलाई अनुरोध गरेको जानकारी दिँदै बोर्डका अध्यक्ष पौडेलले त्यसपछि सबै निर्णय गरिने बताए ।
त्यसअघि परीक्षाको तयारीका लागि रजिस्ट्रेसन फाराम भर्नेलगायतका कार्य सुरु गरिएको छ । माघ तेस्रो सातासम्म फाराम भर्न समय दिइएको छ । यसबाट एसईई दिनेको वास्तविक तथ्याङ्क यकिन भई परीक्षाका बारेमा थप निर्णय गर्न सहज हुने जनाइएको छ ।
एसईईको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने भएकाले पनि त्यसका लागि समेत बोर्डले वास्तविक विद्यार्थीको तथ्याङ्क उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाइएको छ ।गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *