कोरोना खोप उत्पादनसँगै नयाँ रोगको चपेटा

  • 1
    Share

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले एक वर्षको अवधिमा विश्वका ८ करोड १३ लाख ६२ हजार ५ सय ६१ जना संक्रमित हुनुका साथै १७ लाख ७६ हजार ५ सय ३२ बढीको मृत्यु भइसकेको छ ।
यो अवधिमा विश्वका वैज्ञानिकहरुले गरेका अध्ययन अनुसन्धानले एक वर्षभित्रै तीन चरणमा परीक्षण गरी खोप विस्तार गरेका छन् । अमेरिका र युरोपियन मुलुकहरुमा खोपको प्रयोग पनि भइसकेको छ । यसै सन्दर्भमा नेपालले पनि खोप भित्र्याउने विषयमा आवश्यक तयारी गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विश्वको प्रयोगात्मक अभ्यासकै नक्कल गर्दै नेपालले पनि पहिलो चरणमा स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, निजामती सेवामा कार्यरत कर्मचारी अर्थात् शिक्षकलाई लक्षित गरीे विवरण संकलन कार्य थालनी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा २ लाख ५८ हजार ८ सय ४० कोरोना संक्रमित भएकामा २ लाख ५० हजार ५ सय ८१ जना निको भएका र १ हजार ८ सय ३२ जनाको मृत्यु भएको जनाएको छ ।
संक्रमित हुनेमा ज्येष्ठ नागरिक, महिला, बालबालिका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिज्ञ, पत्रकारका साथ समुदायस्तरमा ठूलो संख्या रहेको छ । परीक्षणको दायरामा आएका व्यक्ति मात्र कोरोना संक्रमित नभई परीक्षणको दायरामै नआएका पनि संक्रमित भएको स्वास्थ्य विज्ञहरु बताउँछन् ।
यस्तो अवस्थामा कोरोनाको निर्मूलीकरण गर्ने एउटै मात्र उपाय कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापी रुपमा सबै मानवले लगाउनु मात्र भएको वैज्ञानिकहरुको ठम्याइ छ ।
विश्वले उत्पादन गरेको खोप नेपालमा पनि भित्र्याउने निर्णयमा पुगेको नेपाल सरकारले खोप कसरी लगाउने र माध्यम कसरी तय गर्ने भन्ने योजनामा जुटेको छ । पहिलो चरणमा छनोट गर्ने क्रममा स्वास्थ्यकर्मी, जेष्ठ नागरिक, दीर्घरोगी र शिक्षक परेका कारण सरकारले शिक्षकको विवरण माग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शिक्षकको विवरण माग गर्दै स्वास्थ्य सेवा विभागले शिक्षा तथा विज्ञान मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य सेवा विभागको पत्रअनुसार सबैखाले विद्यालयमा काम गर्ने शिक्षकको विवरण माग गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
मन्त्रालयले शिक्षकहरुको नाम, फोन नम्बर, पढाउने विद्यालय, पद, नियुक्तिको मिति आदि सबै विवरण पठाउन निर्देशनसहितको पत्राचार गरेको जनाएको छ । देशभर झन्डै २ लाख शिक्षक सामुदायिक विद्यालयमा कार्यरत छन् भने निजी विद्यालयको यसअघि सरकारसँग तथ्यांक नभए पनि अब अध्यावधिक हुने मन्त्रालयले जनाएको छ ।
कोरोनाविरुद्धको खोप १२ वर्षमुनिका बालबालिकाका लागि नबनेको अवस्थामा नेपालको कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई दिने प्राथमिकता निर्धारण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा ९ लाख ११ हजार र दोस्रो चरणमा ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र दीर्घरोगी गरी ५१ लाखलाई लक्षित गरिएको छ ।
त्यसै गरी तेस्रो चरणमा ४० देखि ५४ वर्षका २९ लाख र पाँचौं चरणमा १५ देखि ३५ वर्षसम्मका ४२ प्रतिशत नागरिकलाई खोप दिने तयारीका लागि सरकारले योजना बनाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *