पार्टीभित्रको बहस विधि र पद्धतिका लागि मात्रः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बहस विधि र पद्धतिका लागि मात्र भएको बताएका छन् ।

पार्टी कार्यालय धुम्वाराहीमा शनिबार कांग्रेसका पूर्व सांसद कौसर साहलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले अबको समाजवादको यात्रामा अघि बढ्ने सन्दर्भमा कस्तो आर्थिक नीति हुने, कस्तो राजनीतिक मान्यताहरुलाई अवलम्वन गर्दै जाने र कस्तो आचारसंहितालाई पालन गर्ने भन्ने बहसमात्र भएको बताएका हुन् ।

उनले विधान र पद्धतिलाई स्थापित गर्न पार्टी भित्र हुने बहस स्वभाविक भएको उल्लेख गरे । संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको भन्दै प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको दायित्व पनि कम्युनिष्ट पार्टीको नै भएको बताए ।

प्रचण्डले गणतन्त्रलाई रक्षा र सुदृढ गर्ने र यो प्रणालीमार्फत मुलुकको आर्थिक विकासको यात्रा तय गरिने भन्दै यसमा चूनौति सामना गर्ने तागत कम्युनिष्ट पार्टीभित्र मात्र रहेको बताए । त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे ।

पार्टी प्रवेश गर्दै साहले कांग्रेसको नेतृत्व असक्षम तथा विचारविहीन भएकाले आफूहरुले कांग्रेस पार्टी परित्याग गरेको बताए । कांग्रेसले बीपीको विचारलाई पार्टी सिद्धान्त बनाउन नसकेको उनको आरोप थियो । साह दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकातर्फबाट मुस्लिम कोटामा सांसद बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *