हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव नेतृत्वको नेकपालाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते देशभरका ७७ वटै जिल्लामा सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई सफल बनाउन नेता तथा कार्यकर्तालाई अपील गरेको छ ।

मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल गर्न बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले प्रदर्शनलाई सफल बनाउन अपील गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनमा सरकारलाई दबाव दिन चाहने आफ्ना सम्पूर्ण शुभचिन्तक, नेता कार्यकतालाई सडकमा आउन अपील गर्ने निर्णय गरेको जानकारी दिए । कोरोना महामारीमा पनि सरकार सत्ताको द्वन्द्वमा नै कन्द्रित रहेको र वर्तमान सरकार गठन भएपछि झनै भ्रष्टाचार बढ्दै गएको भन्दै उनले सरकारकाविरुद्ध सडकमा उत्रन आह्वान गरे ।

त्यस्तै प्रवक्ता शर्माले मोरङमा भएको शिक्षक हत्याको विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । व्यक्ति हत्याको राजनीतिलाई त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरणका विषयमा रहेका विवादहरु समाधान गर्ने विषयमा पनि छलफल भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरू परिचालन गर्न सकिने विषयमा छलफल भएको थियो ।

मंसिर १७ गते तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारविरुद्ध कांग्रेस आक्रमक भएको हो । पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न अवरोध गरेको भन्दै कांग्रेसले २९ गते देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *