न्यूनचापीय प्रणालीको प्रभावका कारण तीन दिन मौसम बदली हुने

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने जानकारी दिए ।

हाल प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा प्रदेश २ मा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा हुने विभागले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *