सात वर्षमा पनि निर्माण पूरा भएन बालाजु–त्रिशूली सडक

काठमाडौं । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ ।

जम्मा ५५ किलोमिटर लम्बाइको बालाजु–त्रिशूली सडक दुई फरक निर्माण व्यवसायीले निर्माण गरेकामा दुवैतर्फको सडकको प्रगति राम्रो नभएको योजनाका प्रमुख जगत प्रजापतिले बताए । उनका अनुसार यो सडकमा बालाजुबाट ककनीसम्म एउटा ठेक्का र ककनीबाट पिपलटारसम्म अर्काे ठेक्का हो । बालाजुबाट ककनी सडकमा एआइपिएल र सैलुङ कम्पनीले निर्माण गरिरहेको छ । निर्माण कम्पनीले तिहारपछि काम शुरु गरेर अबको केही समयभित्र तीनपिप्लेसम्मको कालोपत्रको तयारी गरेको छ । उनले भने, “त्यस ठाउँसम्म अबको १० दिनसम्म सक्ला कि भन्ने देखिन्छ ।”

बालाजु–ककनी सडकको अवधि एक महिना मात्रै बाँकी भए पनि सो अवधिमा सम्पन्न हुने नदेखिएको प्रमुख प्रजापतिले बताए । कोभिडका कारण अवरुद्ध आयोजनाको अवधि थप छ महिनाका लागि थप्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सोहीअनुसार अवधि थपका लागि निवेदन आएको उहाँले बताउनुभयो । उनले भने, “असारसम्ममा सक्छ कि भन्ने देखिन्छ ।”

पटक–पटक अवधि थप गरिए पनि निर्माण व्यवसायीले अझै काम नियमित नगरेको प्रमुख प्रजापतिले बताए । योजनाले पटक–पटक काम अघि बढाउन भन्दै आएको उनको भनाइ छ । ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत ढिलाइ गरेकाले सरकारले कम्पनीलाई जरिवाना गरिसकेको छ । कम्पनीलाई तीन करोड ६५ लाख जरिवाना गरिएकामा दुई करोड असुली भइसकेको छ । एक करोड ६५ लाख असुली बाँकी भएको उहाँले जानकारी दिनुभयो । उनले भने, “त्यो पनि काम गराएर असुली गरिनेछ ।”

सरकारले अहिलेसम्म चारपटक अवधि थप गरिसकेको छ भने अब थप्दा पाँचपटक थप हुनेछ । विसं २०७०/७१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पछिल्लोपटक सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनअनुसार गत वर्ष भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयले पुस मसान्तसम्म अवधि थप गरेको थियो ।

बालाजु–त्रिशूली–छहरे सडकमा बालाजु–त्रिशूली दुई ठेक्का र त्रिशूली–छहरे एउटा ठेक्का गरी तीन ठेक्का रहेको छ । तीमध्ये तीनवटै ठेक्कामा काम ढिलाइ भएको छ । पछिल्लो समय तुलनात्मकरूपमा त्रिशूली छहरे सडकमा प्रगति राम्रो दखिन्छ । बालाजु–त्रिशूली ५५ किलोमिटर र त्रिशूली–छहरे ११ किलोमिटर गरेर यो योजनाले ६६ किलोमिटर सडक हेरिरहेको छ । यी तीनै कम्पनीसँग विसं २०७०÷७१ मा ठेक्का सम्झौता भएको थियो ।

पटक–पटक अवधि थए भएको भए पनि पछिल्लोपटक थपिएको अवधिमा त्रिशूली छहरे खण्डमा निर्माण सम्पन्न हुने देखिएको छ । ककनी पिपलटारसम्म निर्माणको काम ठप्प छ । पाँच महिनादेखि सो ठेक्का अदालतमा विचाराधीन भएकाले निर्माण अघि बढ्न नसकेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *