USAID

क्रिसमसपछि अमेरिकामा कोभिडको नयाँ लहर आउनसक्ने विज्ञको चेतावनी


अमेरिकाका प्रमुख सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन् । अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेको सङ्क्रमण ठूलो समस्या बनिरहेको छ ।

उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताएका हुन् । अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ । अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् ।

न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन् ।

क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च सङ्क्रमण देखिन थालेका छन् । अहिलेसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा बढ्ता सङ्क्रमणका घटना पुष्टि भएका छन् भने २ लाख ८२ हजार पाँच सयको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको विवरणअनुसार यी दुवै सङ्ख्या विश्वकै उच्च हुन् ।

फाउचीले जनवरीको मध्यतिरको अवस्था अमेरिकाको लागि निकै भयानक समय हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । फाउचीले क्रिसमसका लागि आफ्नो चासो थ्याङ्सगिभिङका लागिजस्तै रहेको बताएका छन् । फाउचीलाई राष्ट्रपति निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *