जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन ट्रम्पको दबाव

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन् । एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य संसद्को विशेष सत्र बोलाउन आह्वान गरेका छन् ।

ट्रम्पले जोर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गरेका हुन् । राष्ट्रपति ट्रम्पले अझै चुनाव हारेको स्वीकारेका छैनन् । उनले कुनै प्रमाणविनै बाइडनले धाँधली गरेर चुनाव जितेको आरोप लगाइरहेका छन् । उनले विभिन्न राज्यहरूमा कानुनी चुनौती दिएका छन् तर लगभग सबै ती चुनौतीहरू असफल भएका छन् ।

यो चुनावमा जोर्जिया एउटा मुख्य प्रतिस्पर्धात्मक राज्य रहेको थियो । त्यहाँ बाइडनले झीनो मतान्तरले चुनाव जितेका छन् । सन् १९९२ पछि उक्त राज्यमा डेमोक्रेटिक उम्मेदवारले चुनाव जितेको यो पहिलोपटक हो । अब त्यहाँ सिनेटमा कब्जा गर्नका लागि दुई पार्टीबीच कडा राजनीतिक प्रतिस्पर्धा हुन गइरहेको छ ।

यदि उक्त राज्यमा जनवरीमा हुने पुनः मतदानमा डेमोक्रेटले जितेमा रिपब्लिकनले अमेरिकी माथिल्लो सदनमा आफ्नो नियन्त्रण गुमाउने छन् । वाशिङ्टन पोस्टका अनुसार ट्रम्पले केम्पलाई शनिवार बिहान फोन गरेर मतपत्रहरूको हस्ताक्षरको परीक्षण गर्न माग गर्न भनेका थिए ।

तर त्यस्तो निर्देशन दिने अधिकार नभएका केम्पले उक्त अनुरोधलाई अस्वीकार गरेको स्रोतलाई उल्लेख गर्दै उक्त पत्रिकाले लेखेको छ । ट्रम्पले चुनावभरि हुलाकबाट गरिने मतदानमा धेरै धाँधली भएको बताउँदै आएका छन् । तर त्यसको कुनै प्रमाण दिन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *