वेलायतले हतारोमा कोरोनाभाइरस खोपको प्रयोग अनुमति दिएको भन्ने आफ्नो अघिल्लो टिप्पणी सच्च्याउँदै अमेरिकाका वरिष्ठ सङ्क्रमण विज्ञले ब्रिटिश प्रक्रियाप्रति पूर्ण विश्वास प्रकट गरेका छन् ।
अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने ब्रिटेन पहिलो देश बनेको थियो । उसले निकै द्रुत प्रक्रिया अवलम्बन गरेर अनुमति दिएको थियो । त्यसबारे प्रश्न उठाएको जस्तो लाग्ने टिप्पणी गरेका अमेरिकाका वरिष्ठ सङ्क्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले पछि त्यसप्रति माफी मागेका छन् ।
उनले ब्रिटिश मेडकल नियामक निकायप्रति आफ्नो पूर्ण विश्वास रहेको बताउँदै भने, ‘मलाई यूकेले वैज्ञानिकरूपमा अनि नियामक प्रक्रियाको बारेमा अपनाउने कार्यप्रति ठूलो भरोसा छ।’ अमेरिकामा छिटो अनुमति दिइएको भए त्यसबारे शङ्का गरिनसक्ने सम्भावना धेरै रहेको उनले औँलयाए ।
अमेरिकाको नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडिएमाथि छिटो खोप अनुमति दिन ह्वाइट हाउससहित थुप्रै क्षेत्रबाट चर्को दबाब परेको छ । र फाउचीले अमेरिकाको प्रक्रियाले केही थप समय लिने बताए । त्यहाँ फाइजर खोपबारे स्वीकृतीको छलफल गर्न एफडिएले डिसेम्बर १० मा बैठक डाकेको छ ।
त्यस्तै मोडेर्नाको खोप स्वीकृतीबारे छलफल गर्न डिसेम्बर १७ मा बैठक डाकिएको छ । यसबीच आफ्नो अनुमति प्रक्रियाबारे चलेको चर्चाका माझ ब्रिटेनले आफ्नो प्रणालीको बचाउ गर्दै फाइजर खोप सुरक्षित र प्रभावकारी भएको पुनः बताएको छ । वेलायतको औषधि नियामक निकायकी प्रमुख डा जुन रेनले खोपलाई स्वीकृती दिँदा कुनै तलमाथि नगरिएको बताइन् ।