विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्त महत्वपूर्ण मानिने ब्राजिलको रेनफरेस्ट भनिने अमेजनको वनजङ्गल क्षेत्रको तीव्र गतिमा विनाश भइरहेको ताजा तथ्याङ्कहरूले देखाएका छन् । यो गति विगत १२ वर्ष यताकै उच्च विन्दुमा पुगेको बताइएको छ ।
अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् अनि दशलाख जनजातिय समुदायको बसोबास छ । पछिल्ला आँकडाहरूले त्यहाँ अघिल्लो १२ महिनाको तुलनामा साढे नौ प्रतिशतले वन विनाश भइरहेको देखाएको छ । अमेजन रेनफरेस्टको विनाश सन् २००८ यताकै उच्च विन्दुमा पुगेको देशको अन्तरिक्ष निकाय आइएनपीइ ले जनाएको छ ।
आइएनपीइले सङ्कलन गरेका भूउपग्रहबाट खिँचिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र करिब ११ हजार वर्ग किलोमिटर को जङ्गल सखाप भएको देखिएको छ । अमेजन वन क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ ।
वैज्ञानिकहरूका अनुसार ब्राजिलमा सन् २०१९ को ज्यानुअरीमा राष्ट्रपति जइर बोल्सोनारुले पद सम्हाले यता त्यहाँको विनाश झन् तीव्र भएको छ । बोल्सोनारुले विश्वकै सबभन्दा ठूलो जङ्गल क्षेत्रमा कृषि तथा खानीका क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्दै आएका छन् ।