ताजा बाँसको अभाव हुन थालेपछि क्यानडाद्वारा पान्डा चीनलाई फिर्ता

खुवाउनका लागि ताजा बाँसको अभाव हुन थालेपछि दुई ठूला पान्डालाई क्यानडाबाट चीन फिर्ता पठाइएको छ । चीनमा अब तिनीहरूले उच्च गुणस्तरको बाँस खान पाउनेछन् ।

एर शन र दा माओ नाम गरेका दुईवटा पान्डालाई गत मे महिनादेखि नै चीन फर्काउन क्यानडाको कालगुरी चिडियाखाना प्रयासरत थियो । कोरोनाभाइरस महामारीबीच ती पान्डाहरूलाई खुवाउन ताजा बाँस आपूर्तिमा समस्या भएपछि चिडियाखानाले तिनीहरूलाई फर्काउने प्रयास थालेको थियो ।

दुई पान्डाको अन्तर्राष्ट्रिय यात्रा अनुमतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न महिनौँ लागेको चिडियाखानाले जनाएको छ । एर शन र दा माओ सन् २०१४ मा क्यानडा पुगेका थिए। चीनसँग गरेको सम्झौता अनुसार क्यानडाले ती दुई पान्डालाई १० वर्ष आफूकहाँ राख्न पाउँथ्यो ।

दुई देशबीच सद्भावनाको कदमअन्तर्गत दुईवटा पान्डालाई चीनबाट क्यानडा लगिएको थियो। त्यसलाई पान्डा कूटनीति पनि भन्ने गरिएको छ।
उक्त चिडियाखानाका अनुसार पान्डाको आहारा ताजा बाँसबाट तयार पारिन्छ र एउटा वयस्क पान्डाले दैनिक लगभग ४० किलो आहारा खाने गर्छ ।

आल्बर्टास्थित चिडियाखानाले चीनबाट ताजा बाँस आयात गर्दै आएको थियो । तर कोरोनाभाइरस महामारीका कारण मार्च महिनामा हवाई उडानहरू बन्द भएपछि पान्डाहरूको आवश्यकता पूरा गर्ने दिशामा समस्या देखिन थाल्यो ।

पूर्वनिर्धारित समयभन्दा चार वर्ष पहिल्यै ती पान्डाहरूलाई चीन फिर्ता पठाउने भने गत मे महिनामा चिडियाखानाले घोषणा गर्यो । त्यसो गरिए तिनीहरूले चीनमा पर्याप्त ताजा बाँस खान पाउने उसको भनाइ थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *