नेकपामा दुई लाइन संघर्षको बीजारोपण


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट रूपमा दुई लाइनको संघर्ष सुरु भएको छ ।

२८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि प्रत्युत्तर दिँदै शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्को राजनीतिक प्र्रस्ताव पेस गरेका छन् । अध्यक्ष ओली र दाहालले पेस गरेको प्रस्तावमा एकले अर्कोमाथि गम्भीर आरोप लगाएका छन् । दुई अध्यक्षले एक आपसमा गम्भीर दोषारोपण गर्दै छुट्टाछुट्टै प्रस्ताव पेस गरेपछि पार्टीमा दुई लाइन संघर्षको बीजारोपण भएको हो ।

स्थायी कमिटीका निर्णय कार्यान्वयन, मन्त्रीपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, पर्सामा पार्टी कार्यकर्ताको हत्या, कर्णाली प्रदेश विवादलगायतका विषयबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दै अहिले आएर लिखित रूपमै आरोप–प्रत्यारोप सुरु भएपछि पार्टी नै विभाजन नजिक पुगेको विश्लेषण नेताहरूले समेत गर्न थालेका छन् ।

नेकपा स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत २६ भदौमा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन नै विवाद समाधानको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् । दुवै अध्यक्षले साझा प्रस्ताव ल्याएको भए राम्रो हुने बताउँदै अहिले पनि दुवै प्रस्तावका राम्रा पक्षलाई समेटेर साझा प्रस्ताव तयार गरे पार्टीको हितमा राम्रो हुने उनले बताए ।

‘कमरेड प्रचण्डले एकतर्फी ढंगले प्रस्ताव प्रस्तुत गरेपछि अहिलेको संकट उत्पन्न भएको हो,’ ज्ञवालीले भने, ‘२६ भदौको स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्नु नै विवाद समाधानको उत्तम विकल्प हो ।’

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्षद्वय ओली र दाहालले आरोप–प्रत्यारोपमा लागेर पार्टी नै फुटाउने दिशामा अग्रसर रहेको बताए । शीर्ष नेताहरूको व्यवहारले पार्टी गम्भीर संकटमा पुगेको उनले बताए ।

‘आरोप प्रत्यारोप मात्रै छन् । आफूतिर कोही पनि फर्किएका छैनन् । दुवै अध्यक्षले आफूतिर फर्किएर समीक्षा गर्नुप¥यो । एकले अर्कोलाई आरोप लगाएर मात्र समस्या समाधान हुँदैन,’ गजुरेलले भने, ‘वैचारिक राजनीतिक बहस भएको भए त्यसले नेताहरूको स्तर पनि बढाउँथ्यो ।’

स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टी एकता अहिले गम्भीर मोडमा पुगेको बताएकी छन् । प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन पार्टीको समस्या समाधान गर्ने गरी आउने अपेक्षा गरे पनि त्यस्तो नपाएको उनले बताइन् । अध्यक्षद्वयले आत्मसमीक्षा गरेर अगाडि बढे मात्रै पार्टी एकताको रक्षा हुन सक्ने उनले बताइन् ।

नेकपा स्थायी कमिटीका सदस्य बेदुराम भुसालले पार्टीभित्र आरोप–प्रत्यारोपको शृंखला जारी रहेकाले सहमतिको सम्भावना कम रहेको बताए । अब पार्टी बैठकमा छलफल गरेर निर्णय गरी अगाडि बढ्नुको विकल्प पनि नरहेको उनले बताए ।

‘२६ भदौको निर्णय कार्यान्वयनमा फर्कियौं त प्रधानमन्त्रीले भन्नुभएको छ । तर, निर्णय कार्यान्वयनमा मेरो पनि गल्ती–कमजोरी रहयो भन्ने स्वीकार गर्नुभएन,’ भुसालले भने, ‘कमजोरी स्विकार्ने एक–दुई शब्दसमेत छैन । यदि आफ्नातर्फका कमजोरी पनि स्वीकार गरेको भए उहाँले भनेजस्तो विकल्पमा जाने स्पेस बाँकी हुन्थ्यो ।’

दुवै अध्यक्षको प्रस्तावपछि अझै आरोप–प्रत्यारोपको शृंखला जारी नै रहने भएकाले सहमतिको सम्भावना नभएको उनले बताए । पार्टी बैठकमै छलफल गरेर टुंगो लगाउनुको विकल्प नभएको उनले बताए ।

छलफलका क्रममा कमिटीले दुवै अध्यक्षको प्रतिवेदन ठीक नभएको र अर्को बनाउने भनेर कुनै नेताको नेतृत्वमा टिमलाई जिम्मा दिएर तेस्रो विकल्प रोज्ने कुराचाहिँ हुन सक्ने उनले बताए । तर त्यो टिममा दुई अध्यक्षले राखेको नेता मात्रै मान्य नहुने बताउँदै उनले दुवैतिरका कमी कमजोरी औल्याउने नेताहरूसमेत आवश्यक पर्ने बताए ।

सचिवालय बैठकमा दुवै अध्यक्षले आरोप–प्रत्यारोपसहितको प्रस्ताव पेस गरिसकेपछि थप छलफलका लागि अर्को बैठक १६ मंसिरमा बस्ने नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

विवाद समाधानका लागि बाटो खुल्यो : वामदेव

नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको विवाद समाधानका लागि बाटो खुलेको बताएका छन् ।
पार्टी बाहिर छरिएर रहेका विचार पार्टीमा भित्रिएका र बैठकमा छलफल गरी त्यसलाई समाधान गर्न सकिनेमा गौतमले जोड दिएका हुन् ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै बुझाएको प्रस्तावको प्रत्युत्तर पेस गरेका थिए । त्यसैको प्रतिक्रिया जनाउँदै गौतमले बैठकका माध्यमबाट छलफल हुने र त्यसैबाट समस्या समाधान हुनेमा जोड दिएका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, ‘पार्टी बाहिर छरिएका हाम्रा विचार आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौं । किनकि पार्टीको जीवन कमिटीका बैठकमा हुन्छ र बैठकको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठकका लागि छलफल सुरु गर्नासाथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ ।’

त्यस्तै पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीका एक जना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्नेमा जोड दिएका छन् । तर महासचिवले त्यसको व्यवस्थापनमा ध्यान पु¥याउन नसकेको आरोप नेता गौतमको रहेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पु-याउन नसक्नेलाई के भन्नु ? यति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *