गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका ५ की ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरीचौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।
दुर्घटनामा परी इस्मा गाउँपालिका ४ हुलकै १९ वर्षीय पर्शुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको अधिकारीले बताए ।