भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ जना स्वास्थ्य स्वयमसेविका परिचालन

काठमाडौं । आज र भोलि काठमाडौं महानगरका करिब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । उनीहरुले २७९ वुथबाट २ दिनमा करीब ५५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनेछन् ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनमा आएका बालबालिकालाई खोप दिएर कार्यक्रमको शुभारम्भ गरेका छन् । जनस्वास्थ्य विभागकाअनुसार गएको असार महिनामा ५४ हजार ९६८ जनालाई भिटामिन ए दिइएको थियो ।

त्यस्तै गएको बर्ष कार्तिकमा ६१ ह्जार ७०९ जनालाई खुवाइएको थियो । महानगरले हरेक अभिभावकलाई ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ ।

रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई—भिटामिन ए पाइने र घरमै पाइने खाद्यबस्तुका बारेमा जानकारी दिने गरिएको छ । कार्यक्रममा ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *