USAID

प्रमाणित हुने बित्तिकै नेपालीले खोप पाउँछन् : मन्त्री ढकाल


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने कित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् । यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्वप्रति–जैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त खोपको सफल परीक्षण भई प्रमाणित हुने बित्तिकै नेपाली नागरिकले पाउने बताए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिईन् ।

सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय भएका छन् । मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरे । अठ्ठाइस जना सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *