सरकार परिवर्तन हुँदैन : प्रधानमन्त्री

  • 2
    Shares

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरूले सरकारको विरोध र सरकार परिवर्तन हुन्छ भन्ने भ्रम फैलाइरहेका बताउँदै उनले कुनै हालतमा वर्तमान सरकार परिवर्तन नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले निराधार आरोप र भ्रम फैलाए पनि देशको विकास र प्रगतिमा सरकार दत्तचित्त भएर अगाडि बढ्ने बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र राष्ट्रको स्वाधीनता बचाउन सरकार सदैव लागिपरेको उल्लेख गरे ।

ताप्लेजुङको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको घुन्सामा घुन्सा फाउन्डेसनको पहलमा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो विचार व्यक्त गरेका हुन् । उनले भने “भ्रम र आरोपमा सरकार अलमल गर्दैन, विकासका लागि सरकार अग्रसर छ ।”

सरकार र प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रैबाट विभिन्न आरोप र भ्रमका खेती गरिए पनि त्यो निराधार आरोप मात्र भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले पार्टीभित्रै प्रधानमन्त्री र सरकारका विरुद्ध षड्यन्त्र रचिए पनि त्यसको सामना गर्न आफु तयार रहेको बताए । केही नेताबाट सरकारलाई असहयोग भए पनि देश र जनताको हितमा सरकार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पश्चिमी भू–भाग लिपुलेक, लिम्पियाधुराजस्ता गुमेको वा छुटेको जमिनलाई फिर्ता लिने पहलस्वरूप नेपालको नक्सामा समेटेर स्वाधीन राष्ट्र निर्माणको कार्यमा वर्तमान सरकार अगाडि बढेको बताए ।

देशभक्ति, राष्ट्रभक्ति तथा स्वाधीन नेपालका लागि सरकारले चालेको कदमलाई सफल बनाउन छिमेकी देश भारत र चीनसँगको मित्रतालाई कायम राख्ने सरकारले नीति लिएको जानकारी दिए । देशको स्थिरताको पक्षमा सरकार दत्तचित्त भई लागेको बताउँदै प्रधानमन्त्री ओलीले ढुक्क भएर विकास निर्माण, देशको उन्नति र प्रगतिको काममा लाग्न सबैलाई आग्रह गर्वेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *