११२ नम्बर जङ्गे पिलर ढल्ने अवस्थामा

  • 3
    Shares

भद्रपुर । झापामा हालसम्म १ सय २२ वटा सीमास्तम्भ फेला परेका छैनन् । भारतसँग १ सय ४४ किलोमिटर क्षेत्रमा जोडिएको झापामा ९ सय ९५ वटा सीमास्तम्भ छन्, जसमध्ये ३६ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ । ७६ वटा सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन्  ।

दक्षिणी झापाको कचनकवल–४ स्थित पाठामारीमा रहेको नेपाल–भारत सीमानाको ११२ नम्बरको जङ्गे पिलर ढल्ने अवस्थामा पुगेको छ । यो वर्ष मात्र १६ वटा पिलरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

संरक्षणका लागि विभागमा जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । दुवै देशका नापी विभागको प्राविधिक टोलीले यही महिनाबाट स्थलगत अनुगमन गरी पुनःस्थापन गरिने विभागबाट जानकारी पाएको प्रजिअ तिमिल्सिनाले बताए ।

गत तीन वर्षयता ७० वटाभन्दा बढी पिलरमा क्षति पुगेको तथ्याङ्क रहेको उनले बताए । कटान रोकथामका लागि कचनकवल गाउँपालिका अध्यक्ष अञ्जरा आलमलाई जानकारी गराइसकेको उनको भनाइ छ ।

केही वर्षयता पूर्वी तटबाट मेची नदी निरन्तर पश्चिमतिर कटान गर्ने क्रम रहँदा पालिकाले त्यसतर्फ ध्यान दिएका छैनन् । नेपाल–भारत सीमाना छुट्याउने पिलर ढल्ने अवस्थामा पुगे पनि दुवै देशका सुरक्षा बलले कटान रोक्न सरकारी ध्यानाकर्षण गराएको जनाए पनि हालसम्म जस्ताको त्यस्तै छ ।

सीमा आसपासका बासिन्दा नसिर अलम चार वर्ष अगाडिसम्म मेची नदीको वहाव एक किलोमिटर पूर्व नै रहेको बताउछन । त्यसयता निरन्तर पश्चिमतिर धार परिवर्तन गरेको नदीको कटानका कारण सीमा क्षेत्रको नेपाल–भारत दुवै देशतिरको सयौं बिगाह जमिन कटान गरिसकेको उनको भनाइ छ । यो खवर नेपाल समाचारपत्रमा छापिएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *