बुटवलमा शेयर बजार विस्तार हुँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलमा शेयर बजारको क्षेत्रलाई विस्तार गर्ने तयारी गरिरहेको छ । नेकपा लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको राजधानी भालुवाङ सरे पनि धितोपत्र बोर्डको कार्यालय बुटवलमा स्थापना गरेर आर्थिक क्षेत्रको विकासमा जोड दिइने बताए । उनले प्रदेशमा शेयर बजारको दायरा फराकिलो बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।

आज रुपन्देहीको सैनामैनामा व्यापार सङ्घले आयोजना गरेको संस्थाको पाँचौँ अधिवेशनमा उनले लुम्बिनी प्रदेशमा शेयर बजारको सम्भावना रहेकाले प्रदेश सरकारले शेयर बजारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । प्रमुख सचेतक ढकालले भने, “यस क्षेत्रमा बजारको राम्रो सम्भावना छ, राजधानी दाङ गए पनि समस्या हुँदैन, सरकार लगानीकर्ता र व्यवसायीको हितका लागि प्रतिबद्ध छ ।” पूँजी बजारको विस्तारका लागि छरिएर रहेको पूँजी वा सानो–सानो बचतमार्फत ठूला आयोजना निर्माण गर्न सकिने ढकालको भनाइ छ ।

उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि रुपन्देहीको कञ्चन गाउँपालिकाबाट कामको थालनी भएको जानकारी गराउँदै सो समस्या छिट्टै समाधान हुनेमा प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य कमला विश्वकर्माले कोरोना सङ्क्रमणका कारण देशको अर्थतन्त्रमा नराम्रो असर परेको बताउँदै देशको अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीको सहभागिता अपरिहार्य रहेको बताइन् ।

सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले संस्थाको भवन निर्माणका लागि नगरपालिकाले छिट्टै नै जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका सैनामैना संयोजक चेतनारायण न्यौपाने, नेपाली काँग्रेसका नगर सभापति रामप्रसाद अधिकारी, तिलोत्तममा व्यापार सङ्घका अध्यक्ष जेपी कँडेललगायतले बोल्दै व्यवसायीहरुको हित र व्यवसाय प्रवर्द्धनका लागि तीनै तहका सरकारले महत्वपूर्ण भूमिका रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *