डब्लुएचओको मुख्यालयका ६५ कर्मचारीलाई कोरोना संक्रमण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् ।

उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला सङ्क्रमित भएको जनाइएको छ । डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार सङ्क्रमण पुष्टि भएका सवैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ ।

त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले जनाएको छ । विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै सङ्क्रमित हुनुलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ ।

जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभरी अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १५९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *