इराक र अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ता गर्ने तयारी

अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको बताएका छन् । अफगानिस्तानमा सन् २०२१ को जनवरीसम्म आधा सैनिक फिर्ता गरेर २ हजार पाँच सय जनामा झारिने अधिकारीहरूले बताएका छन् । त्यस्तै इराकमा ५ सय सैनिक कटौती गरेर २ हजार पाँच सय मात्र राखिने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि नै क्रिसमससम्म सबै सैनिकलाई घर फर्काउने चाहेको ताएका थिए । सैनिक फिर्ता ल्याउने काम जनवरी १५ सम्म सकिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन् । त्यो भनेको जो बाइडनले राष्ट्रपतिका रूपमा काम थाल्नुभन्दा एक दिनअघि हो । राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका छन् ।

उनले अमेरिकी सैन्य हस्तक्षेप खर्चिलो र प्रभावहीन भएको बताउने गरेका छन् । एपी समाचार संस्थाले उदृत गरेका अधिकारीका अनुसार सैन्य नेतृत्वलाई सप्ताहान्तमा सेना फिर्ता गर्ने योजनाबारे बताइएको थियो ।

उनीहरूले एउटा कार्यकारी आदेश तयार पारिएको बताएका छन् । सेप्टेम्बरमा पेन्टागनले इराकबाट एक साताभित्र एक तिहाइभन्दा बढी सेनालाई फिर्ता ल्याउनुपर्ने बताएको थियो। त्यसबेला उसले ५ हजार दुई सय सैनिक सङ्ख्यालाई घटाएर तीन हजार बनाएको थियो ।

त्यसबेला मध्यपूर्वका लागि उच्च अमेरिकी कमाण्डर जनरल केनेथ म्याकेन्जीले जिहादी समूह इस्लामिक स्टेटको बाँकी रहेको अवशेष अन्त्य गर्न इराकमा रहेका अमेरिकी सेनाले इराकी सुरक्षा बललाई सल्लाह दिन र सहयोग गर्न जारी राख्ने बताएका थिए ।

अमेरिकी नेतृत्वको फौजले सन् २००३ मा इराक कब्जा गरेको थियो र राष्ट्रपति सद्दाम हुसेनलाई हटाएको थियो । सेनाले आम नरसंहारकारी हतियार नष्ट गरेको बताइएको थियो तर पछि त्यस्तो हतियार अस्तित्वमा नरहेको खुलासा भएको थियो ।

अफगानिस्तानमा भने सन् २००१ देखि अमेरिकी फौज रहेको छ । सन् २००१ सेप्टेम्बर ११ मा अल कायदाद्वारा अमेरिकामा गरिएको हमलाको केही सातापश्चात् अमेरिकी नेतृत्वको संयुक्त सेनाले अफगानिस्तानबाट तालिबान सत्ता अन्त्य गरिदिएको थियो । त्यसबेला अफगानिस्तान अल कायदाको आधार क्षेत्र रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *