मिस्ट्रीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ । टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै विद्युतगृहमा जडान भएका उपकरणको परीक्षण भैरहेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए ।

‘‘टनेलको फिनिसिङ सकिनै लागेको छ । समग्रमा ९८ प्रतिशत काम सकिएको छ,’’ उनले भने ‘‘विद्युतगृहमा जडान भएको टर्वाइन, जेनेरेटर लगायतका उपकरण परीक्षण भइरहेको छ ।” सन। २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो । नारच्याङको बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । बाँधमा पानी थुनेर परीक्षण भइसकेको छ । कूल ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराइ भएको दुई भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाइएको छ । आउटलेटदेखि बाँधसम्मे पेन स्टक पाईप जडान भएको छ ।

मिस्ट्री सहित नुवाकोटमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर बाँडफाड गरिएको छ । दुवै आयोजनाको प्रर्वद्धक माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले दोस्रो चरणमा कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि पनि शेयर खरिदका लागि आवेदन आव्हान गरिएको बताए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले शेयर हालेका हुन् । नारच्याङका श्याम पुर्जाले बैदेशिक रोजगार, गाइभैसी, भेडाबाख्रा बेचेर स्थानीयले हाइड्रोमा शेयर लगानी गरेको बताए । रु. पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । त्यस्तै ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *