ट्रम्पका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप

अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडप भएको छ । वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना मानिसलाई छुरा हानिएको छ । सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए ।

त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए । राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् । निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनि घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन् । ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका छैनन् ।

तर उनका प्रयासमा शुक्रवारमात्रै तीनवटा धक्का लागेका छन् । एरिजोना राज्यमा उनको समूहले निर्वाचनका दिन गरिएका मतदानमा मतपत्र पुनः हेरिनुपर्ने माग गर्दै दर्ता मुद्दा फिर्ता लिएका छन् । उनका प्रतिद्वन्द्वी बाइडनको स्पष्ट अग्रता देखिएपछि एरिजोनामा त्यस्तो मुद्दा हालिएको थियो । केही वैध मतहरू अस्वीकार गरिएको भन्ने दाबीका आधारमा त्यस्तो मुद्दा दायर गरिएको थियो ।

मिशिगनमा रिपब्लिकन तर्फका दुई पर्यवेक्षकले गरेको निवेदनलाई न्यायाधीशले अस्वीकार गरेका छन् । ती पर्यवेक्षकले वेन काउन्टीमा धाँधली भएको आरोप लगाएका थिए ।

पेन्सिल्भेनियामा ट्रम्पको अभियानले पत्रमार्फत आएका मतपत्रहरूलाई अमान्य गर्न गरिएका निवेदन पनि अस्वीकार गरिएको छ । जोर्जिआ राज्यमा भने दुई उम्मेदवारबीच झीनो मतान्तर रहेपछि त्यहाँ हातैले गनेर पुनः मतगणना गरिँदैछ । बाइडन समूहले भने मतपरिणाम फरक आउने अपेक्षा आफूहरूले नगरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *