प्रहरीको समायोजन प्रक्रिया लम्बियो

  • 1
    Share

काठमाडौं । प्रहरी समायोजन अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाएको झन्डै एक महिना बितिसक्दा पनि नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेपाल प्रहरीको समायोजनका लागि तयार पारिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषद्ले पास नगरिदिँदा समायोजन प्रक्रिया लम्बिएको हो ।

प्रहरी प्रधान कार्यालयले तयार पारेर गृह मन्त्रालय पठाएको ओएनएम गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको भए पनि मन्त्रिपरिषद्को बैठकमा एजेन्डाले प्रवेश नपाएपछि अहिले समायोजन प्रक्रिया अलपत्र परेको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार तीन महिनामा समायोजन प्रक्रिया सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ओएनएम पास नहुँदा प्रक्रिया नै अगाडि बढ्न नसकेको प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री केपी ओलीले नै समायोजन प्रक्रियामा चासो नदिएको कारण ओएनएम पास नभएको गृहका एक उच्च अधिकारीले जानकारी दिए ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कठायतले समायोजनको आन्तरिक काम तीव्ररुपमा भइरहेको र मन्त्रिपरिषद्ले ओएनएम पास गर्नासाथ काम तीव्र गतिमा अघि बढ्ने जानकारी दिए।

‘हामीले आन्तरिक तयारीलाई लगभग अन्तिम चरणमा पु¥याएका छौं ऐन नियम, कार्यविधि तयार भएकाले अव मन्त्रिपरिषद्ले ओएनएम पास गरेको भोलिपल्टबाट कामले गति लिन्छ।’ –एसएसपी कठायतले भने ।

ओएनएम स्वीकृत भए पनि प्रहरी कर्मचारी समायोजन गर्न डेढ महिना र पूर्ण समायोजनाका लागि कम्तीमा तीन महिना लाग्ने उनले बताए । मुलुक संघीय संरचनामा परिवर्तन भएसँगै प्रहरीको समायोजन अत्यावश्यक रहेको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता शंकर नेपालले प्रहरी समायोजनसम्बन्धी ओएनएम स्वीकृतिका लागि मन्त्रिपरिषद्को कार्यालयमा नभई सीधै मन्त्रिपरिषद् बैठकमा जाने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नभएको बताए । उनले सुरक्षाजस्तो संवेदनशील विषयमा छलफल गर्नुपर्ने भएकाले केही ढिलो भएको दाबीसमेत गरे ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *