काठमाडौं । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा. युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताएका छन् ।
बिहीबार संसदीय सुनुवाई समितिमा खतिवडाले विगतमा आफू निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोदनका लागि संसदसम्म पुगेको उल्लेख गर्दै अहिले निर्देशन पालना गर्ने तहमा भएकाले परराष्ट्रको निर्देशन अनुसार काम गर्ने बताएका हुन् । एमसीसीका सन्दर्भमा उठेका उपयुक्त कुराहरुलाई सच्याउने र फरक बुझाईका विषयमा स्पष्ट पार्न सहजिकरण गर्ने उनले बताएका छन् ।
सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै खतिवडाले एमसीसीका विषयमा उठेका विषयहरुमा छलफल गर्न र थप स्पष्ट पार्न अमेरिकी सरकार तयार रहेकाले संशोधन आवश्यक रहेका विषयमा पनि कुरा राख्ने बताए ।
अमेरिकाले एमसीसी परियोजना लागू गर्न अन्य कुनै स्वार्थ नभएर नेपालको विकासको मात्रै स्वार्थ भएको स्पष्ट पारिरहेकाले नेपालमा उठेका विषयहरु त्यहाँका अधिकारीहरु समक्ष पुर्याएर सहजिकरण गर्न सकिने उनले बताए ।
खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमीकमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको बताए । उनले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिलाई छानबिन गर्न आग्रह गरे ।