कोरोना संक्रमणबाट विश्वमा १२ लाख ८९ हजार भन्दा बढीको मृत्यु

पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गइरहेका बेला विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा भने नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार भन्दाबढी संक्रमितको मृत्यु भएसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ८९ हजार ४९३ पुगेको छ ।

विश्वमा एकैदिन कोरोना संक्रमणका कारण मृत्यु भएको यो संख्या अहिलेसम्मकै उच्च हो । जाडो मौसम सुरुभएसँगै संक्रमितको संख्या बढ्दै जाँदा युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ७ सयभन्दाबढीको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ३ हजार भन्दाबढी संक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमितको संख्या ५ करोड २४ लाख २९ हजार ६८२ पुगेको छ । संक्रमितमध्ये ३ करोड ६६ लाख ७४ हजार ४५८ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६८ हजार ९१८ जना संक्रमणमुक्त भएका हुन् । यस्तै, संक्रमितमध्ये १ करोड ४४ लाख ६५ हजार भन्दाबढी सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ९५ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ कारोड ७ लाख ८ हजार ६३० जना कोरोना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ४७ हजार ३ सय बढीको मृत्यु भएको छ भने ६६ लाख ४८ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, भारतमा हालसम्म ८६ लाख ८४ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २८ हजार १ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८० लाख ६४ हजार बढी निको भइसकेका छन् ।

यसैगरी, पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५७ लाख ४९ हजार नाघेको छ भने १ लाख ६३ हजार ४०६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५० लाख ६४ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *