आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना छन् भने ४४ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै सुदूरपश्चिममा ८ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ जना आईसीयू र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा १ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, ललितपुरमा १ सय ८७ र भक्तपुरमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको आशंकामा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रबार देशभर २ हजार ९ सय ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९ सय आठ पुगेको छ । देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

शुक्रबारसम्म २८ हजार ९ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४ सय ८६ जना होम आइसोलेसनमा छन् । यस्तै, प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ९ सय ८६, लुम्बिनी प्रदेशमा २ हजार २ सय ९, सुदूरपश्चिम प्रदेशमा ७ सय २२, गण्डकी प्रदेशमा १ हजार ७ सय १० र कर्णाली प्रदेशमा ३ सय १० जना होम आइसोलेसनमा छन् ।

काठमाडौं १५ हजार संक्रमित
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ जना रहेकामा काठमाडौंमा मात्रै १५ हजार १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४५ हजार २१६ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या १५ हजार १ रहेको छ । यस्तै काठमाडौंमा हालसम्म २ सय ६२ जनाको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, ललितपुरमा हालसम्म ९ हजार ८५० जनामा संक्रमण पुष्टि भएकामा ७ हजार ५५८ जना निको भएका छन् भने २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । ६६ जनाको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा १ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म भक्तपुरमा ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ५ हजार ४२ जना निको भएका छन् । ६९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५७० महिला र ७६८ पुरुष गरी १ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ ।यो खवर राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *