पार्टीभित्रको असमझदारी र पछिल्लो राजनीतिबारे कांग्रेस आन्तरिक छलफलमा

काठमाडौं । पार्टीभित्र देखिएको असमझदारी र पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीसँगको छलफल जारी राखेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति, कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने बिषय तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको नेताहरुले जनाएका छन् । शनिबार पनि पदाधिकारी र पूर्वपदाधिकारीसँगको छलफल हुने र ठोस निष्कर्षमा पुगिने नेताहरुको भनाई छ ।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए ।

पार्टी भित्र देखिएको असमझदारीलाई केन्द्रीय समिति बैठक अघि नै अन्त्य गर्नेगरि छलफल अघि बढेको नेताहरुले जानकारी दिएका छन् ।
सहमतिका लागि भन्दै कांग्रेसले शुक्रबारका लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक कार्तिक २४ गतेसम्मका लागि स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *