रियल म्याड्रिडको जितमा हजार्डको गोल

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले पाँचौ जित दर्ता गर्दै शिर्ष स्थानमा उक्लिएको छ । शनिबार बेलुकी भएको खेलमा म्याड्रिडले ह्युस्कालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

एल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा रियल म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमाले दुई, भाल्भार्डे र इडेन हजार्डले एक-एक गोल गरे । ह्युस्काको लागि डेभिड फेरिरोले गरेको गोल सान्त्वनामा सिमित रह्यो । सिजको पहिलो लिग खेल खेलिरहेका हजार्डले ४० औँ मिनेटमा भाल्भार्डेको पासमा डि बक्स बाहिरबाट सुन्दर गोल गरे । हजार्डको यो सिजनको पहिलो गोल हो । यस्तै ४५ औँ मिनेटमा लुकासको पासमा करिम बेन्जिमाले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

५४ औ मिनेटमा बेन्जिमाको पासमा भाल्भार्डेले गोल गर्दै म्याड्रिडलाई फराकिलो जिततर्फ अग्रसर गराए । ७४ औँं मिनेटमा ह्युस्काको लागि राफा मिरको पासमा डेभिड फेरिरोले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर ९० औँ मिनेटमा रोड्रिगोको पासमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई सहज जित दिलाए ।

जितसँगै म्याड्रिड ७ खेलमा १६ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । लिगमा अझै जित निकाल्न नसकेको ह्युस्का ८ खेलमा ५ अङ्क जोड्दै १८ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *