दिल्लीमा एकैदिन ५ हजार ८९१ जना कोरोना संक्रमित फेला

भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।

यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् । दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६४४ जना सङ्क्रमित भएका छन् । पछिल्लो समयमा दिल्लीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार ७३९ जना नयाँ सङ्क्रमित भेटिएका थिए भने बुधबार पाँच हजार ६७३ जना भेटिएका थिए । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार दिल्लीबाट चार हजार ४३३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

दिल्लीमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३६३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन् । त्यसैगरी कोरोनाभाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४७० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *