काठमाडौँ । सरकारले बङ्गलादेशबाट पैँचो ल्याउन लागेको युरिया मलका लागि दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गर्ने प्रक्रिया सुरु भएको छ । यसअघि राजनीतिक रूपमा मात्र सहमति भएकामा अब दुई देशको मन्त्रालयबीच सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ५० हजार मेट्रिक टन युरिया मल पैँचो ल्याउने प्रक्रिया सुरु गरेपछि बङ्गलादेशले तीन÷चार दिनअघि आधिकारिक सहमति पठाएको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयका प्रवक्ता डा । हरिबहादुर केसीले बङ्गलादेशले सापटी मल दिने भनी केही दिनअघि आधिकारिक जानकारी पठाएको र त्यसैका आधारमा आफूहरूले प्रक्रिया सुरु गरेको बताए । उनले भने, “बिहीबार सहमतिका लागि कानुन मन्त्रालयमा पठाएका छौँ । उताबाट स्वीकृत भएर आएपछि मात्र अन्य प्रक्रिया पूरा गरेर बङ्गलादेशसँग सम्झौता पत्रमा हस्ताक्षर हुन्छ । हस्ताक्षर भएपछि मात्र मल आउन सुरु हुन्छ । ”
मल पैँचो दिने विषयमा सहमति पठाउन बङ्गलादेशले ढिलाइ गरेका कारण अलि ढिलाइ भएको उनले बताए । यतिबेलासम्म मल आइसक्नुपर्नेमा राजनीतिक रूपमा सहमति भए पनि कानुनी कुरा मिलाउन बङ्गलादेशलाई समय लागेका कारण थोरै ढिलाइ भएकोजस्तो देखिएको बताउँदै उनले दुवै पक्षबीच हस्ताक्षर भएको दिनदेखि १५ दिनभित्र मल नेपाल आइपुग्ने दाबी गरे ।
मल ढुवानी गर्न नेपालका तर्फबाट हरेक कुरा तयारी अवस्थामा छ । टेन्डर आह्वान गरेर कृषि सामग्री कम्पनी लिमिटेडले ढुवानी गर्ने कम्पनी ठीक पारिसकेको छ । बोरा पनि छपाइ भइसकेको छ । सम्झौता पत्रमा हस्ताक्षर हुनेबित्तिकै मल ल्याउन सुरु हुन्छ, उनले बताउनुभयो । बङ्गलादेशले पनि नेपाललाई दिने मल किनेर ठीक पारिसकेको खबर आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।