प्रज्जवल थापा । इटालियन क्लब एसी मिलानले युरोपा लिगमा सहज जित निकालेको छ । बिहिबार राती भएको खेलमा मिलानले स्पार्टा प्रागमाथी ३-० गोलको जित निकालेको हो ।
घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, राफियल लियो र डिगो डालोटले गोल गरे । २४ औँ मिनेटमा जाल्टन इब्रहिमोविचको पासमा रियल म्याड्रिडबाट लोनमा एसी मिलान पुगेका ब्राहिम डियाजले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाए ।
३६ औँ मिनेटमा इब्राहिमोविचले मिलानको अग्रता दोब्बर बनाउनबाट चुके । आफैलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीमा उनले गोल गर्न सकेनन् । ५७ औँ मिनेटमा डालोटको पासमा राफियल लियोले गोल गर्दै मिलानलाई २-० गोलको अग्रता दिलाए । ६७ औँ मिनेटमा डालोटले गोल गर्दै मिलानलाई ३-० गोलको जित सुनिश्चित गरे ।
समुहको अर्को खेलमा लिले र सेल्टिकले २-२ गोलको बराबरी खेले । यससँगै मिलान २ खेलमा २ जित सहित ६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ । लिले २ खेलमा १ जित र १ बराबर सहित ४ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।