कोरोनाका कारण साउदी अरबमा एक नेपालीको मृत्यु, विदेशमा २८४ नेपालीको ज्यान गयो

काठमाडौँ । कोभिड–१९ संक्रमणबाट साउदी अरबमा एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत साता विदेशमा एक नेपालीको ज्यान गएको हो ।

एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएको समितिले जनाएको छ ।

गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए ।

मास्कको प्रयोग गर्नाले सयौंँ मानिसको ज्यान जोगिने एनआरएन स्वास्थ्य समितिले जनाएको छ । मास्क प्रयोगका कारण संक्रमण वृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्क प्रयोग गर्न समितिले आग्रह गरेको छ ।

डा सापकोटाका अनुसार अमेरिका र युरोपका देशमा गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निष्कर्ष निकालेको छ । स्वास्थ्य समितिले सार्वजनिकस्थलमा निस्कँदा मानिसलाई सकेसम्म मास्क प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन अनुरोध गरेको छ ।

एक लाखको उद्धार

कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीको उद्धार जारी छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८ सय २९ नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *