अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् । हिजो आइतबारदेखि लागु हुने गरी यो व्यवस्था गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असशक्त, अति अपांगता भएका नागरिक, असहाय एकल महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी सरसफाइमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायत बाहेक अरूले आफ्नै खर्चमा कोराना परीक्षण गर्नुपर्ने निर्णय गरेको हो । उनीहरूको कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमाबाट बेहोर्ने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार कोरोनाको परीक्षण र उपचार व्यक्तिगत खर्चबाट गर्ने निर्णय सरकारी तथा गैरसरकारी अस्पतालमा हिजो आइतबारबाट नै लागु भइसकेको बताए । उनले भने, ‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार स्वयं व्यक्तिले आफंै खर्च गर्नुपर्नेछ । अब सबै सरकारी तथा निजी अस्पतालले भर्ना र उपचार शुल्क लिनेछन् । यस्तै, सबै प्रयोगशालाले परीक्षण शुल्क लिनेछन् ।’
सर्वोच्च अदालतले कोरोना परीक्षणका नाममा शुल्क नलिन सरकारका नाममा आदेश जारी गरेको थियो । अस्पतालले कम्तीमा आईसीयूलगायत पूर्वाधारसहित ५० प्रतिशत शøया कोभिड–१९ व्यवस्थापनका लागि छुट्याउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइसोलेसनमा रहेका संक्रमितलाई पछिल्लो ३ दिनअघिदेखि लक्षण नदेखिएमा १० दिनमा डिस्चार्ज गर्ने र उनीहरूले ७ दिन होम आइसोलेसनमा बस्नुपर्ने सर्त पालना गर्नुपर्ने डा। गौतमले बताए ।

कोरोनाको उपचार हुने अस्पतालहरूको फार्मेसीबाट रेम्डिसिभिर औषधी बिक्री वितरण हुने भएको छ । स्वास्थ्य मन्त्रालयले कोभिडका रूपमा सूचीकृत अस्पतालको फार्मेसीबाट रेम्डिसिभिर औषधी बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको बताए । कोरोना भाइरसको उपचारका लागि नेपालमा क्लिनिकल ट्रायलका रूपमा रेम्डिसिभिर औषधी प्रयोगमा ल्याइएको जनाएको छ ।

सक्रिय संक्रमित ३९ हजार नाघे
देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना पुगेको छ । जसमध्ये २६ हजार ४०८ जना होम आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १६ हजार ७ सय ६५ जना होम आइसोलेसनमा छन् । यस्तै, प्रदेश १ मा ४ हजार १ सय २०, प्रदेश २ मा ८ सय १४, लुम्बिनी प्रदेशमा २ हजार २ सय ८१, सुदूरपश्चिम प्रदेशमा ६ सय ९०, गण्डकी प्रदेशमा ९ सय ३० र कर्णाली प्रदेशमा ८ सय ८ जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । हाल ६६ जना भेन्टिलेटरमा र ३ सय १ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आइतबार देशभर २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

संक्रमणमुक्त हुनेको संख्या पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ छ । योसँगै हालसम्म ९२ हजार १ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ३९ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ । यो खवर राजधानी दैनिकमा छापिएको छ ।

One thought on “अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

  1. लौ बधाई छ सरकार ।
    बिस्वब्यापी रुपमा फैलिएको महामारी अब हाम्रो काबु भन्दा बाहिर गयो । जे गर्नेहो गर ।क्या बात ।स्याब्बास सरकार ।
    अब कोरोना लागेका जति सबैलाई अस्पतालबाट निकाल, होम आइसोलेसनमा बसेकाहरु त निक्लिएकै छन् ।
    सबैको घर घरमा पठाएर संक्रमण फैलाउ ।
    अनि संख्या गन्दै बस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *