जिल्ला अदालतको भवन शिलान्यास

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित जिल्ला अदालत भवनको परिसर नजीकै अत्याधुनिक जिल्ला अदालत भवनको शिलान्यास भएको छ । शनिबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले एक औपचारिक कार्यक्रमबीच वैदिक विधिबाट जिल्ला अदालत भवन उदयपुरको शिलान्यास गरेका हुन् ।

बाह्र कट्ठा आठ धुर जग्गा क्षेत्रफलमा फैलिएको जग्गामा करीब ८१० मिटरभित्रको क्षेत्रफलमा जिल्ला अदालतको भवन निर्माण शुरु भएको जिल्ला अदालत उदयपुरका तहसिलदार राजकुमार आचार्यले बताए । नेपाल सरकारको १६ करोड २२ लाख ५० हजारको बजेटमा बोलपत्र आह्वान भएकामा सिएमरकृष्णलक्ष्मी जेभी काठमाडौँको निर्माण कम्पनीले १३ करोड ४२ लाख ८१ हजार ९२६ को बजेटमा नयाँ भवन निर्माण कार्य शुरु गर्न लागेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

भूकम्प प्रतिरोधात्मक निर्माणसहितको अत्याधुनिक भवनमा भवन निर्माणसँगै तीन तलाको भवन, दुईवटा लिफ्टसहितको एक सानो र अर्को ठूलो लिफ्टको व्यवस्था रहने जिल्ला अदालत उदयपुरले बताएको छ । यस्तै भवन निर्माणसँगै पाँचवटा इजालाससहितको चारवटा सामान्य इजालास र एक बालइजालास भवन कोठाको समेत व्यवस्था हुने भएको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *