चीनले फेरि भन्याेः हुम्लामा सीमा मिचिएकाे छैन

काठमाडौँ । चीनले हुम्लामा नेपाली भूमि नमिचिएको भन्दै हालै निर्माण गरिएका भवनहरु चिनियाँ भूमिभित्रै रहेको दाेहाेर्याएकाे छ । निर्माण गरिएको नयाँ गाउँ चीनको अलि काउन्टीको पुराङ्ग भन्ने स्थानमा पर्ने बुराङ्गका विदेशी मामिला निर्देशक पाछ्ले बताएका हुन् ।

चीनको सरकारी मुखपत्र दि ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा नयाँ गाउँ निर्माणकार्य अन्तिम चरणमा पुगेको जानकारी दिदैँ उनले भनेको छन्, “सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।”

मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला नै सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी निश्चित गर्न विस्तृत स्थलगत सर्बे र म्यापिङ गरेको पनि उनले दाबी गरेका छन् ।

फाेटाेः द ग्लाेबल टाइम्स्

चीनले सीमा मिचेको विषय नेपाली जनताले आवाज उठाएपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको पुराङ्ग गाउँमा नै पर्ने निश्कर्ष निकालेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् ।

नेपालको विपक्षी दलको सक्रियतामा गरिएको सर्वे टिमले केही गल्ती गरेको हुनसक्ने उनले बताएका छन् । पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन् ।

यसअघि नेपालको परराष्ट्र मन्त्रालय, चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको बताएका छन् । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै नेपाल सरकारले झूट बोलेको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *