चार महिनादेखि सडक सम्पर्क बिच्छेद

  • 4
    Shares

म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमुकाम बेनीसँगै भकिम्लीको यातायात सम्पर्क टुटेको हो ।
सात सय ३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिङ्गो वडा गत असार अन्तिम सातादेखि यातायात सम्पर्क बिच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताए ।

बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुँदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ । आवत जावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ती भएको छ ।

भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो । हाल चालू रहेको एउटा मात्रै थामडाडा–मरेक–छेपारे–मुसुङ–भकिम्ली सडकमा नियमित गाडी चल्दैन् । पहिले भकिम्लीबाट बेनी आउन तीस मिनेट समय लाग्थ्यो । सडक घुमाउरो भएकाले आवत जावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताए । मरेकको सडकमा ढुवानीका लागि ट्याक्टर मात्र मुस्किलले चल्छ । पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताए । घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयवासी यातायात सुबिधाबाट बञ्चित भएका छन् ।

हेलगौडाको पहिरोले भकिम्लीको समग्र विकासलाई अबरोध गरेको वडा अध्यक्ष पदम पुन बताउछन । यो पहिरोले हाम्रो विकासको गतिलाई ब्रेक लगाएको छ उनले भने बस्तीलाई जोखिममा पारेर पहिरोमै फेरी सडक बनाउन सम्भव नभएकाले विकल्पको अध्ययन शुरु गरेका छौँ ।

भिरालो पाखोमा खनिएको सडकको भल व्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाइ छ । पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तीलाई समेत जोखिम बनाएको छ । भकिम्लीलाई यातायात सञ्जालमा जोड्न बैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुनले बताए । भिरालो पाखो चिरा–चिरा परेर पहिरो सक्रिय भएको वडा सदस्य गेमप्रसाद घर्तीमगरले बताए ।

करिब डेढ किलोमिटर दूरीको लम्बाई र एक किलोमिटर दूरीको चौडाइको पाखो छियाछिया भएको छ उनले भने–गाउँको नजिकै आइपुगेको पहिरोले घरको पर्खाल चर्किन थालेपछि हलेगौडाका सात परिवार बिस्थापित भएका छन् ।
हलेगौडाका ३१ घर पहिरोको उच्च जोखिममा परेका छन् । रनबहादुर घर्ती, नरबहादुर घर्ती, रनबहादुर रोका, तिलबहादुर घर्ती, खिममाया रोका, नरदेवी रोका, सोचेन्द्र रोका, गङ्गाबहादुर रोका, कर्णबहादुर रोका र चन्द्रबहादुर रोकाको परिवार बिस्थापित भएका छन् ।

रात परेपछि छिमेकीकहाँ गएर सुत्ने गरेको बिस्थापित सोचिन्द्र रोकाले बताए । दिनमा दश–पन्ध्र सेन्टिमिटरका दरले जमिन तल तल बगिरहेको छ उनले भने–एउटै बारीको पाटा तल र माथि भएका छन् । नरबहादुर रोकाको कुखुरा फर्म भत्किएको छ । तीन जना कृषकको ३०० रोपनी सुन्तला बगैँचा पहिरोमा बगेको छ ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *