USAID

चीनको छन्तुमा खुल्ने नयाँ नेपाली महावाणिज्य दूतावासको दरबन्दी निश्चित

  • 20
    Shares

काठमाडौँ । चीनको सिछुवान प्रान्तको छन्तुमा नेपाली महावाणिज्य दूतावास खोल्ने सहमति भएको झण्डै एक वर्षपछि सरकारले सहसचिवस्तरको दरबन्दी पठाउने निश्चित गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत साउदी अरबको जेद्दामा रहेको महावाणिज्यदूतावासमा रहेको सहसचिवस्तरको दरबन्दीलाई छन्तुस्थित नेपाली महावाणिज्य दूतावासमा स्थानान्तरण गर्ने सोमबारको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङ्गको नेपालको राजकीय भ्रमणका बेला दुई देशबीच सिछुवान प्रान्तकाे राजधानी सहर छन्तुमा नेपाली महावाणिज्य दूतावास खोल्ने सहमति भएको थियो ।

राष्ट्रपतिको भ्रमणका बेला भएको सहमतिलाई कार्यान्वयन गर्ने विषयलाई सिछुवान प्रान्तीय सरकारले उच्च प्राथमिकतामा राखेको छ । गएको पुष महिनामा नेपाल भ्रमणमा आएको सिछुवान प्रान्त वैदेशिक मामिला विभागका पार्टी सचिव याङ्ग तोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली पक्षसँग महावाणिज्य दूताबास स्थापनाको लागि भएगरेका प्रगतिबारे चासो व्यक्त गरेकाे थियो ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँगले पदभार ग्रहण गरेको केही समयमा नै उनलाई भेट्न सिछुवान प्रान्तकै वैदेशिक मामिला विभागकी उपप्रमुख चाङ्ग थाओ बेइजिङस्थित नेपाली राजदूताबास पुगेकी थिइन् । उपप्रमुख थाओले शिष्टाचार भेटमा राजदूत पाण्डेसँग पनि नेपाली महावाणिज्य दूताबास खोल्न नेपालको तर्फबाट गरिएका तयारी र प्रगतिबारे चासो राखेकी थिइन् ।

नेपालको चीनसँग सबैभन्दा धेरै हवाई सम्पर्क भएको सहर छन्तु हो । कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु हुनुअगाडि छन्तुबाट एअर चाइना, सिछुवान एअर र तिब्बत एअरले काठमाडौँमा नियमित उडान भर्दै आइरहेका थिए । सिछुवान र लुम्बिनी प्रदेशबीच भगिनी सम्बन्ध स्थापित छ ।

राजधानी बेइजिङमा राजदूताबासको अतिरिक्त चीनको व्यापारिक सहर क्वाङ्चौ, तिब्बत स्वायत्त प्रदेशको ल्हासा र विशेष प्रशासनिक क्षेत्र हङ्गकङ्गमा नेपालकाे महावाणिज्यदूताबास रहेको छ । औद्योगिक सहर शाङ्हाईमा भने नेपालको अवैतानिक वाणिज्यदूताबास रहेको छ ।


  • 20
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *