इटालीबाट फरार उत्तर कोरियाली राजदूत दक्षिण कोरियामा

उत्तर कोरियाका एक वरिष्ठ कुटनीतिज्ञ हाल दक्षिण कोरिया सरकारको संरक्षणमा दक्षिण कोरियामा रहेको एक सांसदले बताएका छन् । इटालीका लागि उत्तर कोरियाली ती कुटनीतिज्ञ सन् २०१८ को अन्त्यतिर इटालीबाट फरार भएका थिए ।

दक्षिण कोरियाली सांसदले सार्वजनिक गरेको तथ्य प्रमाणित भएमा उत्तर कोरिया परित्याग गर्ने जो सोङ गिल दोस्रो बरिष्ठ अधिकारी हुन् । उनी इटालीका लागि उत्तर कोरियाली राजदूत थिए । यसअघि सन् १९९७ मा सत्तारुढ उत्तर कोरियाली वर्कर्स पार्टीका वरिष्ठ अधिकारी ह्वाङ जाङ–योप उत्तर कोरिया परित्याग गरेर दक्षिण आइपुगेका थिए । ह्वाङ जाङ–योपले स्वर्गीय नेता किम जोङ–इललाई पढाएका थिए ।

दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कुटनीतिज्ञ जो नोभेम्बर २०१८ मा आफ्नी पत्निसहित रोम निवास छाडेको बताएको थियो । युरोपेली मुलुकभन्दा बाहिरको मुलुकमा उनी रहेका गुप्तचर प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण कोरियाली नेसनल एसेम्ब्लीको गुप्तचर समितिका सदस्य समेत रहेका सांसद हा ताए–केयुङले उत्तर कोरियाली कुटनीतिज्ञ जो सोङ गिल गत वर्ष दक्षिण कोरिया आइपुगेको बताए । दक्षिण कोरियाली संचार माध्यमहरुले मंगलबार साँझ उत्तर कोरियाली कुटनीतिज्ञ दक्षिण कोरियामा रहेको समाचार प्रशारण गरेका थिए ।

सांसद हा ले कुटनीतिज्ञ जो को सुरक्षाका लागि थप विवरण दिन अस्वीकार गरे । सांसद हा ले समाचारको स्रोतका बारेमा केही बताएका छैनन् । तर दक्षिण कोरियाको राष्ट्रिय अनुसन्धान विभागले नै विवरणहरु सांसदलाई बताएको अनुमान गरिएको छ ।

तर विभागले कुटनीतिज्ञको आगमनका बारेमा अध्ययन गरिरहेको बताएको छ । दक्षिण कोरियाको विदेश तथा एकीकरण मामिला मन्त्रालयले भने उक्त रिपोर्टको सत्यताका बारेमा केही बताएको छैन । कुटनीतिज्ञ जो सोङ गिलभन्दा अघि लन्डनस्थित राजदूतावासमा कार्यरत थाए योङ हो पनि दूतावास परित्याग गरी भागेका थिए । उनी सन् २०१६ मा सियोल पुगेका थिए र यसैवर्ष संसदका लागि निर्वाचित भएका थिए ।

सन् १९९० को दशकयता उत्तर कोरिया परित्याग गरेर दक्षिण कोरिया आइपुगेकाहरुको संख्या करिब ३३ हजार पुगिसकेको छ । दक्षिण कोरिया आइपुगेकाहरुले उत्तर कोरियामा राजनीतिक दमन भएको र गरिबी अति ठूलो समस्या रहेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *