सुदूरपश्चिममा कोरोना निको हुने दर ८६ प्रतिशत

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिड-१९वाट मंगलबारसम्म कूल सङ्क्रमित हुने मध्ये झण्डै ८६ प्रतिशत अर्थात् छ हजार ६०० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्कका अनुसार आजसम्म कुल सङ्क्रमित सात हजार ६६१ जना पुगेका छन् ।

यही असोज १ गते सम्म कूल सङ्क्रमित छ हजार ५२८जना रहेकोमा ती मध्ये ८७ प्रतिशत अर्थात् पाँच हजार ७१४जना डिस्चार्ज भएका छन् । मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा पछिल्लो बीस दिनमा निको हुने दर एक प्रतिशतले घटेको देखिन्छ ।

असोज महिनालागेसँगै प्रदेशमा सङ्क्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ । कोरोना भाइरसको सङ्क्रमणवाट असोज १गते सम्म १२ जनाको मृत्यु भएकोमा पछिल्लो बीस दिनमा थप छ जनाको मृत्यु भएपछि आज सम्म मृत्यु हुनेको सङ्ख्या १८पुगेको छ । यसै गरी २० दिन यता एक हजार १३३ नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमितको दर पनि बढ्दै गएको देखिएको छ ।

तीन हप्ता अघि ८०२जना रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आज एक हजार ४३ पुगेको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले केही दिन देखि कोभिड—१९का जटिल अवस्थाका बिरामी बढ्न थालेको जानकारी दिए । तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा यो रोगको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले होम आइसोलेशनमा बस्नेहरुले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन गरेको लापरवाहीले सङ्क्रमण पनि बढ्दै गएको बताए ।

पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम र डोटीमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड—१९को सङ्क्रमणका कारण हालसम्म प्रदेशको कैलालीका नौ,अछाम, बझाङ,र बाजुराका दुई÷दुई र कञ्चनपर, डडेलधुरा र बैतडीका एक÷एक सङ्क्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *